रसुवामा ‘ग्रेट हिमालयन ट्रेल’ बनाउन स्थानीयको अवरोध - pharaksandesh.com

मुख्य समाचार


Tuesday 29 December 2020

रसुवामा ‘ग्रेट हिमालयन ट्रेल’ बनाउन स्थानीयको अवरोध


रसुवा, १४ पुस :
रसुवाको गोसाइकुण्ड गाउँपालिका -५ स्थित लामाहोटल क्षेत्रमा निर्माण भइरहेको ग्रेट हिमालय ट्रेल पदमार्ग निर्माणको काम रोकिएको छ ।

आफुले गर्दै आएको पर्यटन व्यवसायमा असर पुग्ने भन्दै गाउँपालिकाको वडानम्बर ५ स्थित ठुलोस्याफ्रुका स्थानिय बासिन्दाले काममा अवरोध गरेपछि पदमार्ग निर्माणको काम रोकिएको हो।

स्थानियले ट्रेल निर्माणमा अवरोध पुर्‍याएपछि निर्माण भइरहेको पदमार्गको काम एक सातादेखि रोकिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुबाट ठाडेपाटी हुँदै लामा होटल निस्कने करिब ४ दिनको पदमार्गमा रसुवातर्फको भुभागमा पदमार्ग निर्माणको काम आएपछि निर्माणको काम रोकिएको हो ।

पर्यटन बिभागको ३ करोड भन्दा बढी आर्थिक लगानीमा निर्माण शुरु यो पदमार्ग करिब तीन फिट चौडाईमा निर्माण हुदैछ ।

पदमार्गको निर्माणको सुरुवात भने चार वर्ष अगाडि नै भएको हो । तीन पटकको टेण्डरपछि शुरु भएको निर्माण समेत स्थानीयको अवरोध पछि बन्द भएको हो ।

सो पदमार्गले गोसाईकुण्ड गाउँपालिका ५ स्थित ठुलो स्याफ्रुको गोसाईकुन्ड रेडपाण्डा इको ट्रेलमा असर पुग्ने गुनासो स्थानीयको छ ।

सो क्षेत्र बिश्वमा लोप हुन लागेको रेडपाण्डा, हिमचितुवा, झारल, घोरल, मृग र आसामी बाँदर जस्ता बन्यजन्तुको बासस्थान र संरक्षण भएको क्षेत्र मानिन्छ ।

यहाँ पदयात्रा मार्ग बनाउँदा वन पैदावार र वन्यजन्तुको संरक्षण र सम्बर्धनमा असर पुग्ने उनीहरुको तर्क छ । यहाँ पदयात्रा बनाउँदा चोरी शिकारी बढ्ने र स्थानीय होटेल धरासायी हुने व्यवसायीको गुनासो छ ।

ठुलो स्याफ्रुमा अहिले ६० वटा होटल संचालनमा छन् । निर्माण भइरहेको पदमार्गमा स्थानीयहरुको अवरोधपछि गोसाईकुण्ड गाउँपालिकाले सहजिकरणका लागि केहि समय पदमार्ग निर्माणको काम रोक्न लगाएको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले जानकारी दिनुभयो।

हेलम्बु र लामा होटलसम्मको नयाँ पदमार्ग निर्माणले पर्यटक आवागमन बृद्धि हुनुका साथै बसाइसमेत लम्बिने सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन तामाङले बताउनुभयो ।

यसले दुबै क्षेत्रका होटेल व्यवसायी लाभान्वित हुने उनको भनाइ छ । उनले भने, त्यो क्षेत्रको पदमार्गले यहाँ रहेका बन, बन्यजन्तु तथा जैबिक विविधतामा जतिपनि चोरी तस्करी भइरहेको छ, त्यसमा मानिहरुको आवागमन तथा संरक्षणमा लागेका सरकारी निकायहरुलाई आवातजावतमा सहज भई संरक्षणमासमेत सहयोग पुग्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.