ताप्लेजुङ आगलागी : पाथीभरा मन्दिर सुरक्षित, डढेलो भने फैलिँदै - pharaksandesh.com

मुख्य समाचार


Tuesday 29 December 2020

ताप्लेजुङ आगलागी : पाथीभरा मन्दिर सुरक्षित, डढेलो भने फैलिँदै


ताप्लेजुङ, १४ पुस :
हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङकाे पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ ।

मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि सुरु भएको डढेलाे मन्दिर परिसरमै पुगेपछि हिजो (साेमबार) हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो ।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेकाे र तत्कालका लागि मन्दिरको जोखिम हटेको प्रजिअ चापागाईँले बताउनुभयो । तर आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकोले निभाउन कठिन भएको उहाँले बताउनुभयो ।

आज (मङ्गलबार) पनि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रण गर्ने उहाँले बताउनुभयो । स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको भए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि हिजो (साेमबार) बिहान एक्कासी फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । रातको समयमा डढेलो केही कम भए पनि बिहान हावा चल्न थालेपछि फैलने गरेको प्रजिअ चापागाईँकाे भनाइ छ । 

डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने त्यहाँ रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ ।

आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ । फुङलिङ नगरपालिका–११ को पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि सुरु भएको आगो कसरी फैलियाे भन्नेबारे खुलेकाे छैन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.