काठमाडाैँ, २४ मङ्सिर : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले नवप्रवर्द्धन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भएको बताउनुभएको छ ।
नवप्रवर्द्धन उद्योगहरूमा पुँजीको व्यवस्थापन र बजारको पहुँच विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बेला आएको पनि पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो । बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नवप्रवर्द्धन उद्योगहरूलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने विषयमा राज्यले तालमेल मिलाउन नसकेको बताउनुभएकाे हाे ।
साना तथा घरेलु उद्यमीहरूलाई प्रोत्साहन गर्ने कुरामा राज्यले जिम्मेवारी लिनुपर्ने समेत उहाँकाे भनाइ छ । कृषि उत्पादनमा राज्यले सहयोग गरी बजारमा सुपथ मूल्यमा वस्तु पुर्याउने विषयमा राज्यले ध्यान दिनुपर्नेमा नेपालले जोड दिनुभयो । नवप्रवर्द्धन उद्योगहरूमा पुँजीको परिचालन गरी उत्पादन बढाउँदै आयातित वस्तुहरूलाई विस्थापित गर्नेतर्फ अर्थतन्त्रलाई उन्मुख गर्नुपर्ने उहाँको भनाइ छ । यसबाहेक नागरिकस्तरमा स्वदेशी वस्तुको उपभोग गर्नुपर्छ भन्ने भावना जाग्रित गर्नसमेत सरकारले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
नवप्रवर्द्धन उद्योगको पुँजी र बजारलाई एकसाथ व्यवस्थापन गर्ने कुरामा राज्यको सहयोग अपरिहार्य भएको पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो । नेपालको अर्थतन्त्रको प्रमुख आधार कृषि भएकोले त्यसमा आधारित उद्योग व्यवसायको प्रवर्द्धनमा जोड दिनुपर्ने पनि उहाँको भनाइ छ । जनसङ्ख्याको सबैभन्दा ठूलो हिस्सा अहिले पनि कृषिमा निर्भर रहेकोले कृषिमा आधारित अर्थतन्त्रलाई नै प्रोत्साहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
किसानले उत्पादन गरेका वस्तुको बिक्री हुने ग्यारेण्टी सरकारले लिएमा व्यावसायिक कृषि उत्पादनतर्फ युवाहरूको आकर्षण बढ्ने पनि पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो । यसबाट रोजगारी बढ्न गइ देशको अर्थतन्त्रले गति लिने नेता नेपालले विश्वास पनि व्यक्त गर्नुभयो ।

No comments:
Post a Comment