काठमाडौँ, २ पुस : नेपाल राष्ट्र बैङ्कले सेयर धितोमा कर्जा प्रदान गर्न थप सर्त लगाउन निर्देशन दिएको छ । राष्ट्र बैङ्कले क ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरेको निर्देशनमा संशोधन गर्दै पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिक रूपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्था, तीन वर्षदेखि साधारण सभा नगरेका र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थालाई सेयर धितोमा कर्जा प्रदान नगर्न निर्देशन दिएको हो ।
यसअघि राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा भएका वा निर्देश बमोजिमको पुँजीकोष अनुपात कायम नगरेका बैङ्क वित्तीय संस्था, नेटवर्थ ऋणात्मक भएका संस्था, नेप्सेको सूचीकरणबाट हटाइएका संस्था, एक आर्थिक वर्ष समाप्ति भएको एक वर्ष बितिसक्दा पनि अन्तिम लेख परीक्षण नगर्ने संस्थालाई सेयर धितोमा कर्जा प्रदान नगर्ने निर्देशन दिएको थियो ।
त्यस्तै सेयरको धितोमा कर्जा प्रदान गर्दा कर्जा नीति/निर्देशिकामा धितोका रूपमा लिने सेयरको मूल्य आम्दानी अनुपात, प्राइस टु बुक भ्यालु, डेभिडेन्ट पेआउट रेसियो जस्ता आधारभूत सूचकाङ्ककोे विश्लेषणसम्बन्धी व्यवस्था पनि उल्लेख गरेको हुनु पनि निर्देशन दिएको छ ।
त्यस्तै केन्द्रीय बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट प्रयोजन नखुलेका कुल व्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम प्रतिव्यक्ति ५० लाख रुपियाँसम्म मात्र प्रवाह गर्न सकिने जनाएको छ । यस्तो कर्जा प्रवाह गर्दा सम्बन्धित बैङ्क वित्तीय संस्थाले ५० लाखको सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नुपर्ने जनाएको छ ।
No comments:
Post a Comment