प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडाैँ उपत्यकाका ठाउँ–ठाउँमा विरोध प्रदर्शन गर्दै - pharaksandesh.com

मुख्य समाचार


Tuesday 29 December 2020

प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडाैँ उपत्यकाका ठाउँ–ठाउँमा विरोध प्रदर्शन गर्दै


काठमाडाैँ, १४ पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज (मङ्गलबार) प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडाैँ उपत्यकाका ठाउँ–ठाउँमा विरोध प्रदर्शन गर्दैछ ।

प्रदर्शनका लागि पार्टीका शीर्ष नेता खटिएका प्रचण्ड–नेपाल समूहले जनाएको छ । नेकपाले काठमाण्डौको प्रदशर्नी मार्गमा बिहान ११ बजेपछि सभा गर्ने जनाएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।

नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार पाँच सय एक सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।सरकारले गएको ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शन गरिरहेको छ । हिजो (सोमबार) नेपाली कांग्रेसले पनि देशभर विरोध प्रदर्शन गरेको थियो ।

यसैबीच नेकपाको प्रचण्ड नेपाल समूहले विरोध प्रदर्शनका लागि सडकको बीच भागमा नै मञ्च बनाएपछि आज (मङ्गलबार) बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ । प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जुनसुकै आन्दोलनका लागि पनि केन्द्रबिन्दु बन्दा प्रदर्शनी मार्गको बाटो प्रभावित हुँदै आएको छ ।

यस्तै, प्रतिनिधि सभा भङ्ग भएसँगै भइरहेको विरोध प्रदर्शनका कारण उपत्यकाको सडक अस्तव्यस्त बन्न थालेको छ । हिजो (सोमबार) कांग्रेसको प्रदर्शनका कारण उपत्यकाका धेरै ठाउँमा जाम बढेको थियो । आज (मङ्गलबार) पनि कार्यालय समय र दिउँसोको समयमा चाप बढ्न सक्ने भन्दै कामका लागि घरबाट निस्कँदा केही समय अगाडि नै निस्कन ट्राफिक प्रहरीको सुझाव छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.