बक्यौता भुक्तानी गर्न चिनी मिललाई आग्रह - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 15 December 2020

बक्यौता भुक्तानी गर्न चिनी मिललाई आग्रह


काठमाडौँ, ३० मङ्सिर :
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या बुझी बक्यौता भुक्तानी गर्न चिनी उद्यमीलाई आग्रह गर्नुभएको छ । 

उखु किसान राजधानीमा आन्दोलनमा रहेका बेला सोमबार मन्त्रालयमा चिनी मिलका सञ्चालकसँगको छलफलमा उहाँले किसानको समस्या बुझ्न मिल सञ्चालकलाई आग्रह गर्नुभएको मन्त्रालयले जनाएको छ ।मन्त्री भट्टले भन्नुभयो, ‘‘किसानको भुक्तानी कसरी दिनुहुन्छ, त्यो तपाईंहरूको जिम्मेवारी हो, किसानको पनि समस्या बुझ्नुस्, किसानलाई समस्या नभएको भए यो जाडोमा आन्दोलन गर्न काठमाडौँ आउने थिएनन्, त्यो समस्या चाँडै समाधान गर्नुस् ।’’ भुक्तानी दिन बाँकी रहेका विभिन्न छवटा चिनी उद्योगका सञ्चालकसँग भट्टको उपस्थितिमा छलफल भएको मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘‘वर्षौंदेखि किसानको भुक्तानी भएको छैन, पटक पटक भुक्तानी गर्ने प्रतिबद्धता जनाउनुहुन्छ तर भुक्तानी हुँदैन । यस पटक कसरी हुन्छ भुक्तानी गर्नुस् । अन्यथा प्रचलित कानुनअनुसार कारबाही गरिन्छ,’’ मन्त्री भट्टले स्पष्ट पार्नुभयो ।

केके कारणले भुक्तानी दिन सक्नुभएन, कति भुक्तानी बाँकी छ ? उद्योगको अवस्था के छ, कहिलेसम्ममा भुक्तानी गर्नुहुन्छ ? लगायतका कुरा जनतालाई जानकारी गराउन मन्त्री भट्टले चिनी उद्योग सञ्चालकलाई आग्रह गर्नुभएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

उद्योगीका साथै किसानलाई पनि राखेर छलफल गर्न खोजिएको थियो । त्यसका लागि आन्दोलनरत किसानका अगुवालाई पत्र लेखिएको थियो । तर किसान प्रतिनिधि आउन नमानेको सहसचिव रेग्मीको भनाइ छ । मङ्गलबार छलफल आन्दोलनरत किसानलाई बोलाइएको जनाइएको छ । मन्त्रालयले चिनी मिलका सञ्चालकसँग त्यसको निकासका बारेमा सोमबार छलफल गरेको छ ।

छलफलमा उद्यमीहरूले उद्योगको समस्या प्रस्तुत गरेका थिए । श्रीराम सुगर मिल बन्द भइसकेको र अरू मिलको अवस्था राम्रो नभएर भुक्तानी दिन कठिन भएको समस्या राखेका थिए ।

मिलहरू बन्द हुने अवस्थामा पुगेका कारण बक्यौता रकम कसरी भुक्तानी दिने भनी विकल्पको खोजीमा आफूहरू रहेको र चाँडै भुक्तानी दिने सञ्चालकहरूले प्रतिबद्धता जनाएको सहसचिव रेग्मीले जानकारी दिनुभयो ।

मङ्सिर ९ गते पनि चिनी मिलका सञ्चालकलाई बोलाएर मन्त्री भट्टले छलफल गरे पनि समस्या समाधान हुने सकेन । उखु किसानले कात्तिक २३ गते मन्त्री भट्टलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । उखु किसानले सोमबार पनि धर्नालाई निरन्तरता दिएका छन् । 

किसान आन्दोलनको अगुवाइ गरिरहनुभएका राकेश मिश्रले सरकारबाट वार्ताका लागि पत्र र फोन दुवै आएको जानकारी दिनुभयो । विगतमा सरकारसँग पाँच बुँदे सम्झौता भइसकेको र पुनः सम्झौताका लागि मात्र मन्त्रालय नआउने आफूले भनेको उहाँले बताउनुभयो । विगतमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग किसानहरूको छ । यस पटक भुक्तानी प्राप्त भइसकेपछि मात्र घर फर्किने मन्त्रालयलाई जानकारी गराइसकेको उहाँले बताउनुभयो । आन्दोलनकारी किसानका अनुसार विगतको ९० करोड रुपियाँ उद्यमीले उखु किसानलाई वक्यौता तिर्न बाँकी छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.