नौ महिनापछि खुल्यो लाइसेन्स फाराम - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 29 December 2020

नौ महिनापछि खुल्यो लाइसेन्स फाराम


काठमाडाैँ, १४ पुस :
नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फाराम खुला भएको छ ।

कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम आज (मङ्गलबार) देखि सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक एवम् सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फाराम खुला गरेको उहाँले बताउनुभयो । अहिलेलाई दैनिक कोटा तोकेर आवेदन लिन थालिएको र अब नियमित परीक्षा हुने पनि उहाँले बताउनुभयो ।

अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०/५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि निर्देशक भुसालले जानकारी दिनुभयो ।

लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप भएकोले अनलाइन साइट नखुल्ने समस्या देखिएको र समस्या समाधानको प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।

काठमाण्डौ उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.