पशु विमामार्फत हिउँ चितुवा जोगाउने नयाँ योजना - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 9 December 2020

पशु विमामार्फत हिउँ चितुवा जोगाउने नयाँ योजना


डोल्पा, २४ मङ्सिर :
  डोल्पामा दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउनका लागि पशु विमा कार्यक्रम लागु गरिएको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलो पटक पशुपालन गरिरहेका किसानलाई लक्षित गरी पशु विमा कार्यक्रम लागु गरिएको हो ।

निकुञ्ज क्षेत्रमा पाइने हिँउ चितुवा, ब्वाँसो लगायतका वन्यजन्तुबाट घरपालुवा जनावरहरुमा हुने क्षति न्युनिकरण गर्दै कृषकहरुको हिँउ चितुवा प्रतिको प्रतिशोध घटाई संरक्षण गर्न विमा कार्यक्रम लागु गरिएको निकुञ्जले जनाएको छ ।

आयआर्जनको प्रमुख आधार भनेकै पशुपालन व्यवसाय भएकाले स्थानीय कृषकहरुमा पशु विमा सम्बन्धि स्पष्ट धारणा बसाल्न सदरमुकाम दुनैमा कृषकहरुलाई बोलाएर चार दिने तालिम समेत दिइएको छ ।

डोल्पालीको प्रमुख चिनारीको रुपमा रहेको हिँउ चितुवा जोगाउनु सबैको दायित्व भएको तालिमका सहभागिहरुको भनाइ थियो ।

शे–फोक्सुण्डो निकुञ्ज दुर्लभ वन्यजन्तु हिँउ चितुवाको प्रमुख वासस्थान भएकाले यसलाई जोगाउन पहिलो पटक विमा कार्यक्रम लागु गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले जानकारी दिनुभयो ।

कृषकहरुले व्यवसायिक रुपमा पालेका चौंरी, भेडा, च्याङ्ग्रा लगायतका घर पालुवा जनावरहरु वन्यजन्तुले क्षति पुर्‍याएमा आक्रोशित भएर दुर्लभ वन्यजन्तुलाई सिध्याउने रणनीतिमा नलागुन् भन्ने कार्यक्रमको प्रमुख उद्येश्य रहेको निकुञ्जले जनाएको छ।

पशु बिमा योजना स्थानीय समुदायको प्रिमियम र विश्व वन्यजन्तु कोषबाट प्रदान गरिएको अक्षय कोषको ब्याज रकमबाट बन्यजन्तुबाट हुने पशुधनको क्षतिलाई राहत प्रदान गर्नको लागि ल्याइएको नयाँ कार्यक्रम भएको विश्व वन्यजन्तु कोषका कर्मचारी गौतम पौडेलले बताउनुभयो ।

यस योजनाबाट स्थानीय समुदायको जिविकोपार्जनमा सुधार हुने, पशुधनको क्षतिवाट हुने नोक्सानी वहन गर्न सकिने र हिउँचितुवाप्रति स्थानीय वासिन्दाको सोचाइमा सकारात्मक परिवर्तन भई प्रतिशोधले शिकार गर्ने कार्य कम हुने विश्वास विश्व वन्यजन्तु कोषलाई छ ।

आफ्नो पशुको बिमा गर्ने सदस्यले बचत तथा प्रिमियम रकमको लगानीमार्फत सस्तो ब्याजमा कर्जा लिन सक्नेछन ।

वन्यन्तुको आक्रमणबाट एक सय घरपालुवा पशुमा दुईदेखि तीनवटासम्मको क्षतिहुने गरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.