काठमाडौं, १४ माघ : विभाजित नेकपाका दुवै पक्षलाई मिलाउन राष्ट्रिय अभियान घोषणा गरेका नेता वामदेव गौतमले नेकपा विभाजनले विश्वभरका कम्युनिष्टहरुलाई रुवाएको टिप्पणी गर्नुभएकाे छ । गौतमले नेकपा एकताले अमेरिकामा समेत प्रभाव पार्न लागेका बेला विभाजनले सबैलाई रुवाएको बताउनुभएकाे हाे ।
एकता अभियान घोषणा सभामा गौतमले भन्नुभयाे, ‘आज चीनको कम्युनिष्ट पार्टी रोएको छ, भियतनामको कम्युनिष्ट पार्टी रोएको छ । हाम्रो एकताले अमेरिका जस्तो कम्युनिष्टलाई घृणा गर्ने ठाउँमा पनि पार्टी उठ्न लागेको थियो । तर उहाँहरुले सारा मान्छेलाई रुवाएर आफू हाँसिरहनुभएको छ ।’
गौतमले नेकपा विभाजनमा केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै दोषी रहेको भन्दै दुई अध्यक्ष राख्नु पनि पार्टी विभाजनको कारक बनेको बताउनुभयाे । उहाँले दुई अध्यक्ष भएपछि पार्टीमा दुईवटा केन्द्र बनेको र उहाँहरु नमिल्नासाथ पार्टी फुटेको बताउनुभयाे ।
गौतमले आज सँगै बसेर चीया पनि खान नसक्ने गरि अभिव्यक्ति आइरहेको भन्दै गालिगलौजप्रति आपत्ति जनाउनुभएकाे छ । प्रचण्डले गत वर्ष मंसीर ४ गते कार्यकारी अध्यक्ष पाएर प्रधानमन्त्रीको आधा कार्यकाल छाडेकै दिनदेखि पार्टी विभाजनको आधार बनेको उहाँले बताउनुभयाे ।
गौतमले भन्नुभयाे, ‘उहाँहरु फुटेर शक्ति आर्जन हुन्छ भन्नेमा लाग्नुभयो । फुटाउनकै निम्ति अविश्वास प्रस्ताव ल्याउनुभयो, पार्टी फुटे फुट्छ भने भनेर प्रतिनिधिसभा भंग गर्नुभयो ।’

No comments:
Post a Comment