कानुन व्यवसायी शम्भु थापा र मुक्ति प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वमहान्यायाधिवक्ता भएका नाताले कार्की संवैधानिक इजलासमा बस्न नमिल्ने तर्क सहित प्रश्न उठाउनुभएकाे थियाे । कार्की २०७२ असाेजमा ओली पहिलो चोटि प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता नियुक्त हुनुभएकाे थियाे ।
त्यो विषयमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र कानुन व्यवसायीबीच प्रश्नोत्तर चलेको थियो । कार्कीलाई संवैधानिक इजलासमा सामेल गरिएकामा प्रश्न उठाउँदै इजलासमै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशसँग प्रश्न गर्नुभएकाे थियाे, ‘हजूरको कमन सेन्सले के भन्छ ? प्रश्न उठेपछि जवाफ दिनुपर्छ ।’
थापाले भन्नुभयाे, ‘मलाई यो बहसमा बस्न कुनै आपत्ति छैन । तर, सर्वसाधारणले यो स्वीकार गर्छन् कि गर्दैनन् भन्ने महत्वपूर्ण हो ।’ त्यसमा प्रधानन्यायाधीश राणाले ‘संवैधानिक इजलासमा कार्की बस्न पाउँछन् भन्दै उल्टो प्रश्न गरेका थिए, ‘उहाँलाई प्रधानमन्त्रीले नियुक्त गरेको हो र ?’
प्रधानन्यायाधीश राणाले जवाफ फर्काउनुभयाे, ‘त्यसरी मुद्दा हेर्न नमिल्ने हो भने मैले पनि हेर्न मिल्दैन । म पनि संवैधानिक परिषद् बाट प्रधानन्यायाधीश नियुक्त भएको हुँ । मलाई नियुक्ति गर्दा ओली नै प्रधानमन्त्री थिए ।’ त्यसमा थापाको भनाइ रह्यो, ‘तपाईँ प्रधानन्यायाधीश र सरकारको कानूनी सल्लाहकार महान्यायाधिक्ताबीच फरक हुन्छ । कानूनी सल्लाहकारको वैयक्तिक सम्बन्ध पनि हुन्छ ।’
त्यसपछि प्रधानन्यायाधीश राणाले संवैधानिक रहने या नरहने जिम्मा न्यायाधीश कार्कीलाई छाड्ने जानकारी गराउनुभएकाे थियाे । विवाद चर्कने स्थितिसँगै कार्कीले संवैधानिक इजलासमा नरहने घोषणा गर्नुभएकाे हाे । त्यसमा अर्का कानुन व्यवसायी प्रधानले पनि अदालतको निष्पक्षता, आस्था र विश्वास जोगाउने सवालमा ध्यान दिनुपर्ने उल्लेख गर्दै कार्की रहँदा राम्रो सन्देश नजाने धारणा राख्नुभएकाे थियाे ।
यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने र अर्को न्यायाधीश थपिने सर्वोच्च अदालतले जनाएको छ । अर्को सुनुवाइ आगामी बुधबार हुने र त्यसका लागि अर्को संवैधानिक इजलास गठन हुने भएको छ ।
कुनै पनि पक्षको कानुन व्यवसायी भइसकेको व्यक्तिपछि न्यायाधीश भएमा आफ्नो पुरानो पक्षको मुद्दा हेर्न मिल्दैन । प्राकृतिक न्यायको सिद्धान्तअनुसार तटस्थता र निष्पक्षता नरहने हुनाले त्यस्तो अवस्थामा न्यायाधीशले मुद्दा नहेरी अलग हुनुपर्छ भन्ने मान्यता राखिन्छ ।

No comments:
Post a Comment