केयूको उपकुलपतिमा माकाजू, थापा र लुइँटेलको नाम सिफारिस - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 January 2021

केयूको उपकुलपतिमा माकाजू, थापा र लुइँटेलको नाम सिफारिस


काठमाडाैँ, ६ माघ :
काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको छ । काठमाडौं विश्वविद्यालयमा दुई कार्यकाल उपकुलपति भइसकेका प्रा.डा. रामकण्ठ माकाजू, प्रा.डा. भोला थापा र प्रा.डा बालचन्द्र लुइँटेलको नाम कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिफारिस गरेको हो । 

सोमबार शिक्षा मन्त्रालयमा बसेको सर्च कमिटीको बैठकले माकाजू, थापा र लुइँटेलको नाम सिफारिस गरेको एक सदस्यले बताए । विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेका थिए । कमिटी सदस्यमा विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना छन् । 

माकाजूको केही दिनमा दोस्रो कार्यकाल सकिँदै छ । माकाजू विश्वविद्यालयमा तेस्रो कार्यकालका लागि उपकुलपति बन्ने प्रयासमा छन् । एउटै व्यक्तिलाई दुईभन्दा बढी कार्यकाल उपकुलपतिको जिम्मेवारी दिन नहुने भन्दै विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी विरोधमा छन् ।

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले ‘एक व्यक्ति एक पद, अधिकतम दुई कार्यकाल’ हुनुपर्ने माग गरिरहेका छन् । छनोट समितिले सिफारिस गरेका व्यक्तिमध्ये एकजनालाई कुलपतिले चार वर्षका लागि नियुक्त गर्ने व्यवस्था छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.