रानीपोखरी लेउ र झ्याउले कुरूप बन्न थालेपछि सरसफाइ सुरु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 January 2021

रानीपोखरी लेउ र झ्याउले कुरूप बन्न थालेपछि सरसफाइ सुरु


काठमाडाैँ, ६ माघ :
पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी लेउ र झ्याउले कुरूप बन्न थालेपछि काठमाडाैं महानगरपालिकाले सरसफाइ गर्न थालेको छ । सरसफाइको क्रममा लेउका कारण रानीपोखरीमा पानीको सहत घटेको फेला परेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले सुरुमा पोखरीमा पाँच फिट दुई इन्च पानी राखिएको र अहिले तीन फिट मात्रै पानी बाँकी रहेको जानकारी दिएका छन् । मानन्धरले भने, ‘पोखरीमा पानी भर्ने विषयमा महानगरपालिकासँग छलफल भएको छ, केही दिनमै पोखरी सफा गरी पुनः पानी भर्ने योजना छ ।’ 

महानगरपालिकाले पोखरीको लेउ र झ्याउ हटाउन नगर प्रहरीलाई खटाएको छ । पोखरीको पानी सफा राख्ने दीर्घकालीन योजनाबारे समेत सरोकारवाला निकायसँग छलफल गरिरहेको काठमाडौं महानगरले जनाएको छ । पुनर्निर्माण प्राधिकरणले हालसम्म रानीपोखरी हस्तान्तरण नगरे पनि आफ्नो क्षेत्रभित्र पर्ने भएकाले सरसफाइ सुरु गरेको महानगरका प्रमुख प्रकाशकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए । 

रानीपोखरी पुनर्निर्माण भएर सञ्चालनमा नआउँदै लेउले भरिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि ध्यानाकर्षण भएको महानगरले जानकारी दिएको छ । सरसफाइको दीर्घकालीन व्यवस्था नहुन्जेलसम्म महानगरपालिकाले नै सरसफाइ गर्नेछ । 

पोखरीमा लेउ जम्मा हुने कारण पत्ता लगाएर माछा राख्ने वा लेउ नियन्त्रण गर्ने विषादी प्रयोग गर्ने भन्नेबारे समेत छलफल भइरहेको महानगरपालिकाले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.