काठमाडाैँ, २३ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानका संवाहकले नै संविधान हत्याको बाटो रोजेपछि आफ्नो पार्टीले रामरामबाहेक अरू केही गर्न नसक्ने बताउनुभएकाे छ ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष थापाले दुईतिहाइ बहुमतले पारित भएको संविधान आज तिनैबाट हत्या हुन खोज्दा आफूहरूले रामराम मात्रै भन्ने बताउनुभयाे ।
उहाँले लेख्नुभएकाे छ, 'आफ्ना मूलभूत मान्यताहरू नसमेटिएका कारण राप्रपाले यो संविधानको विपक्षमा मतदान गरेको हो।दुईतिहाइ बहुमतबाट पारित भएपछि प्रजातान्त्रिक मान्यताअनुरूप संविधानलाई आलोचनात्मक समर्थन गरेका हौँ ।अहिले संविधानका संवाहकहरू नै संविधान हत्याको बाटोमा लागेका छन्। यस अवस्थामा हामी राम ! राम ! भन्दा बढी केही भन्न सक्दैनौँ।’
उहाँले संसद् विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने बताउनुभएकाे छ । अदालतलाई दबाब वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुनु नहुने उहाँकाे भनाइ छ । दुईतिहाइ जनमत प्राप्त नेकपाले जनतालाई धोका दिएर संसद् विघटन गरेको भन्दै उहाँले यो अवस्थामा ताजा जनादेशमा जानु लोकतान्त्रिक र संवैधानिक मान्यता भएको उल्लेख गर्नुभयाे ।

No comments:
Post a Comment