गैँडा तस्करका आरोपित १५ वर्षपछि पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 7 January 2021

गैँडा तस्करका आरोपित १५ वर्षपछि पक्राउ


चितवन, २३ पुस :
निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा माडी नगरपालिका– ५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन् । 

अधिकारीका अनुसार उनलाई निकुञ्ज प्रशासनले यही पुस २७ गते पक्राउ गरेको हो । विसं २०६२ असारमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध असोज १२ गते मुद्दा दायर गरिएको थियो । उनको मुद्दा विसं २०६४ पुस २० गते फैसला भई १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकिएको थियो । फरार रहेका अवस्थामा माडीको पिपरियाबाट उनलाई पक्राउ गरिएको हो । उनी विसं २०६२ सालमा निकुञ्जको भित्री इलाका भालुटापुमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दाबी गरेको छ । उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ । 

महतो पक्राउ पर्नुलाई निकुञ्ज अधिकारीले ठूलो सफलताका रुपमा लिएका छन् । पछिल्लो समय निकुञ्जमा चोरी शिकारी बढेको छ । साउनयता तस्करले मारेका चार गैँडा फेला परेपछि निकुञ्जमा निगरानी बढाइएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.