कागजको बस्ती : संयम श्रेष्ठ - pharaksandesh.com

मुख्य समाचार


Sunday, 17 January 2021

कागजको बस्ती : संयम श्रेष्ठ

संयम श्रेष्ठ 
 
"एता आऊ त यो उचाल्न मलाई गार्हो भयो!" साथीले मलाई बोलायो। उसले मलाई मेरो घरको सामान निकाल्न सघाइरहेको थियो। सानैदेखि यहि घरमा बसोबास गरेका कारण यो घरमा मेरा धेरै यादहरु थिए। साथी गलेको कारण मैले उसलाई एकछिन आराम गर्न दिएँ र म पुरानाे कोठातिर तानिएँ। 

बुवाले आफ्नो गाउँमा भएको जग्गा बेचेर यो सानो घर किन्नुभएको थियो। सानै भएतापनि यो घर हाम्रोलागि महल सरह थियो। सम्झनाको बतासमा हराएको म कतिखेर आमाबुवाको कोठामा आईपुगिसकेँछु। उही पुरानो कोठा, उसैगरी सजाइएका मेरा मेडलहरू, उसैगरी साँचीएका मेरा लेखहरु।

आमाबुवालाई मैले लेखेको कविताहरू असाध्यै मनपर्थ्यो। "मेरी छोरी एकदिन ठुलो कवि बन्छे..." आमा भनिरहनुहुन्थ्यो। यति सम्झिने बित्तिकै मेरा आखाँमा आँशु जम्मा हुन थाले। मेरो अगाडि एउटा पत्र थियो, त्यस पत्रमा मैले एउटा कविता लेखेकी थिएँ त्यै पढ्न थालेँ -

कागजको बस्ती 
न आफुले दु:ख झेल्नु पर्ने
न आफुले पसिना बगाउनु पर्ने
कस्तो अचम्मको बस्ती हो यो कागजको?
जहाँ कागजले सुख साट्न मिल्ने

न मृत्युको डर
न बाढीको चिन्ता
कस्तो अचम्मको बस्ती हो यो कागजको?
जहाँ कागजले जीवन किन्न मिल्ने

न खेती नाश हुने 
न त उब्जनी चराले खाने
आखिर कस्तो अचम्मको बस्ती हो यो कागजको?
जहाँ कागजले अन्नको हेरचाह गरिदिने

म पनि जाँदै छु 
यो कागजको बस्ती अनुभव गर्न
अवश्य फर्कि आउनेछु यहि जमिनमा
गोजीमा दाम र सबैको मुखमा मेरो नाम लिएर।

यहि पत्र छोडि म घरबाट भागेकी थिएँ। त्यतिबेला मैले मेरा आमाबुवालाई कति दु:ख दिएकी रहेछु भन्ने कुराले मलाई आजसम्म पनि खाईरहन्छ। म एकैछिन त्यहाँ बसेर रोएँ। साथीले काम सुरु गरिसकेको रहेछ। त्यो पत्र त्यही ठाउँमा राख्नु अगाडी मैले मेरी आमाको अक्षर देखेँ। त्यसमा मेरी आमाले मलाई ऐउटा सानो कुरा लेखेर छोडेकी रहिछन्।

"पत्र तिम्रो हात परे, तिमीले कुरा बुझिसकेकी छ्यौ।मेरी छोरी भोकै त छैनस् नि, बरु केहि खादैँ पढेस्।

तिम्रो बुवा र म सन्चै हुनेछौँ। तिम्रो कागजको बस्तीले पक्कैपनि तिमीलाई चर्चित बनायो होला। त्यो बस्ती फेरि कागजको हो, त्यसमा धेरै ध्यान दियौ भने कागज झैँ हराउँछेऊ। एउटा राम्रो केटो खोजी बिहे गरिहाले चैँ राम्रो।

आमाको मायाले तिम्रो सबै काम फलिफाप होस्,
हाम्रो आशिर्वाद छ तिमीसगँ जुनि जुनिलाई।"

यति पढेपछि मैले मेरो आँशु थाम्न सकिनँ। म रोएँ, मेरो मन फुट्ने गरिकन रोएँ। मेरो साथी आत्तेर मलाई हेर्न आयो र मैले उसलाई सबै कुरा सुनाएँ। उसले मलाई बिस्तारै व्हिल चेयरबाट उठाएर कोठानजिक लग्यो। मैले साथीसगँ कलम मागेर मैले लेखेको कागजपछाडि लेखेँ;

आफुले दु:ख झेल्नु पर्दो रैनछ,
आफुले पसिना बगाउनु पर्दो रैनछ ,
साँच्चै अचम्मको हुने रहेछ यो कागजको बस्ती
यहाँ त कागजले मजदुरी गराउने रहेछ।

मृत्युको डर नहुने रैछ,
बाढीको पनि चिन्ता नहुने रैछ,
साच्चै अचम्मको हुने रहेछ कागजको बस्ती
यहाँ त कागजले जीवन चल्ने रहेछ।

न खेति नास हुने,
न त उब्जनी चराले खाने,
साँच्चै अचम्मको हुने रहेछ कागजको बस्ती
यहाँ त कागज मात्र फल्ने रहेछ।

भागेर गएको थिएँ चार चक्के गाडीमा,
फर्केर आएँ चार चक्के चेयरमा,
कागजको बस्ती अनुभव गरि आएँ म
फेरि आफ्नै जमिनमा....

संयम श्रेष्ठ
कक्षा ११
सैनिक आवासीय महाविद्यालय
सल्लाघारी, भक्तपुर

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.