खोलासँगको त्यो एकरात : शशी श्रेष्ठ - pharaksandesh.com

मुख्य समाचार


Saturday, 16 January 2021

खोलासँगको त्यो एकरात : शशी श्रेष्ठ

शशी श्रेष्ठ

निष्पट्ट अँधेरी रात,
शुन्य आकाश,
झ्याउँकिरीहरुको मन्द आवाज,
त्यो कालो बादल मात्रको
हात समाइ ऊ
एक्लै एक्लै दौडिरहेछ;
उसलाई पनि कतै गएर
पोख्खिन मन भएछ क्यारे।

न जून न तारा
असहाय रातमा
खोलाको सुसेली म सम्म आइपुग्छ।
उसको इन्भिटेसनमा म
पटक पटक
आफ्ना पीरका डङ्गुरहरु
पखाल्छु।
मेरा पिडाहरु
उसैको पानीमा मिसाउँछु।

एकदिन,
त्यो निश्चल खोलाको आग्रहमा
एउटा सिङ्गो रात
मैले सुटुक्क उसैलाई दिएँ।
सुन्दर प्रकृतिका छटाहरु,
बन जङ्गल, 
उकाली ओराली गर्दै म
किनारै किनार खोलासँगै 
छाल र लहरमा हराइरहेँ।

आहा !
कति स्निग्ध त्यो ठाउँ
मान्छेको भिड भन्दा प___र
हामी एक-अर्कामा हराइरह्यौँ,
हामी रमाइरह्यौँ;
समुन्द्रसम्म पुग्ने आशामा
हामी दृढ थियौँ।

जङ्गलै थर्काउने
उसको सुमधुर ध्वनिमा म
चुर्लुम्मै डुबेकी थिएँ।
गन्तव्यमा पुग्नु अगावै
ती ब्याधाहरुको पञ्जामा
अथवा भनौँ
ती मान्छे-मान्छेको भिडमा
म पुग्न बाध्य भएँ।
उनीहरू मलाई सम्झाउँदै थिए,
मृत्यु समस्याको समाधान होइन;
म आफैँलाई सम्झाउँदै थिएँ,
नारी स्वतन्त्र थिइन
छैन
कहिल्यै हुन्न।।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.