काठमाडाैँ, २० पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने अडान लिइरहेका वेला जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सडक–संघर्षबाटै पुनस्र्थापना गर्ने दाबी गर्नुभएकाे छ । जसपानिकट युवा संघको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई आइतबार जनकपुरधाममा सम्बोधन गर्दै यादवले लामो संघर्षबाट प्राप्त उपलब्धिको सुरक्षाका लागि जसपाले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयाे ।
प्रधानमन्त्री ओलीको सनक र सत्तास्वार्थले संविधान, संघीयता, समावेशिता, गणतन्त्र संकटमा परेको उहाँको दाबी छ । उहाँले भन्नुभयाे, ‘हुन त उनीहरूले नरुचाएर पनि मधेस आन्दोलनको बलमा मुलुक संघीय गणतान्त्रिक व्यवस्थामा गयो, त्यसकारण यसलाई जोगाउन र संरक्षण गर्न जसपा पछाडि पर्दैन ।’
‘प्रधानमन्त्री ओलीबाट लोकतन्त्रणको हत्या हुँदा आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेसको इन्जिन अहिले खराब भएको छ भने कम्युनिस्टहरूले त लोकतान्त्रिक बाटो नै बिराएका छन्,’ उहाँले भन्नुभयाे, ‘अहिले लोकतन्त्रणको रक्षा गर्ने जिम्मेवारी वैकल्पिक शक्ति जसपाको काँधमा आएको छ ।’ ओलीले पार्टीभित्रको समस्या समाधान गर्न नसकेर मुलुकलाई नै आगोमा झोकेको पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवकाे आरोप छ ।
उहाँले भन्नुभयाे, ‘प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा रहेको छ, अदालतको कस्तो फैसला आउँछ त्यो हामीलाई थाहा छैन, अदालतप्रति हाम्रो सम्मान छ, तर भरोसा छैन । कारण विगतमा पनि राजनीतिक विषयमा अदालतको फैसला हामीले हेरेका छौँ । प्रतिनिधिसभा विघटन पनि राजनीतिक विषय हो । यसको समाधान राजनीतिक माध्यमले नै हुन्छ ।’
No comments:
Post a Comment