तनहुँ, १८ पुस : तनहुँको शुक्लागण्डकी–१२ फिरफिरेलाई पर्यटकीय गन्तव्य बनाउन तमुहिल पार्क निमार्णको प्रक्रिया अगाडि बढेको छ । स्थानीय तहको पुर्नसंरचना हुनुअघि साविक फिरफिरे गाविस रहेको वडा उक्त वडाको राङलीबोट गाउँमा पाँच करोडको लागतमा पार्क बनाउन लागिएको हो ।
गुरुङ समुदायको बाक्लो बसोबास रहेको फिरफिरेमा गुरुङ जातिको इतिहास, धर्म, कला, संस्कृति र रीतिरिवाजको प्रतिबिम्बको रुपमा पार्क निर्माण गर्न खोजिएको वडा अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो । पार्क निर्माणका लागि वडाले चालु आर्थिक वर्षमा १० लाख रुपियाँ विनियोजन गरेको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो । वडा अध्यक्ष गुरुङका अनुसार पार्कको पूर्वाधार निर्माण गर्न करिब पाँच करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।
‘फिरफिरेलाई नौलो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न वडाले पार्क निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ वडा अध्यक्ष गुरुङले भन्नुभयो, स्थानीय बासिन्दाहरुले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्’ । पार्कको मुख्य आकर्षणको रुपमा फलिना क्होइबो रहनेछ । यसै गरी गुरुङ समुदायको पैतृक कार्यसँग जोडिएको क्होइबोमा १२ वटा वर्गचक्रको मूर्ति निर्माण गरिनेछ । त्यस्तै गुरुङ समुदायको परम्परागत घर निर्माण गरी त्यसभित्र जन्मदेखि मत्युसम्मका कर्मकाण्डहरु झल्कने हस्तकला लगायतका सामाग्रीहरुको प्रदर्शन गरिने वडाले जनाएको छ ।
पार्कले गुरुङ समुदायबारे खोज अनुसन्धान गर्न सहयोग गर्ने वडा अध्यक्ष गुरुङले बताउनुहुन्छ । वडाध्यक्ष गुरुङका अनुसार पार्कसँगै शान्ति पार्क र गोरर्खा राइफल्स पार्कको पनि परिकल्पना गरिएको छ । जहाँ भगवान गौतम बुद्धको २५ फिट अग्लो विशाल प्रतिमा राखिनेछ भने सिन्धुलीगढीका सरदार वंशु गुरुङलगायत पहिलो तथा दोस्रो विश्वयुद्ध लडेका पूर्खाहरुदेखि हालसम्म नेपाल, भारत, सिंगापुर र बेलायत सरकारको सेवामा आफ्नो योगदान गरेका वीर योद्धाहरुको स्मृति र सम्मानमा पार्क निर्माण हुने वडाले जनाएको छ । पर्यटकको थप आकर्षणका लागि पार्कमा वाटर फाउण्टेन, वनभोज स्थल, बालउद्यान र आपतकालिन उद्धारका लागि हेलिप्याड समेत निर्माण गर्ने लक्ष्य लिइएको छ ।
पार्कको लागि छ जनाद्धारा निशुल्क जग्गा दान
पार्क निर्माणका लागि सार्वजानिक जग्गाले मात्रै अपूग भएपछि स्थानीय छ जनाले आवश्यक जग्गा निशुल्क दान गरेका छन् ।
दश रोपनी चार आना जग्गा दान गरेको वडा कार्यालयले जनाएको छ । सो ठाउँका कौरी गुरुङले एक रोपनी आठ आना, कविराज गुरुङले १५ आना, इन्द्रसुवा गुरुङले एक रोपनी सात आना, भुपरध्वज गुरुङले तीन रोपनी एक आना, लालु गुरुङले एक रोपनी ११ आना र मनबहादुर गुरुङले एक रोपनी आठ आना जग्गा पार्कको लागि उपलब्ध गराएको वडा अध्यक्ष गुरुङले गोरखापत्रलाई जानकारी दिनुभयो ।
No comments:
Post a Comment