![]() |
| रितु खनाल |
तिम्रो काख छ शून्य हेर्छु जहिल्यै बज्दैन लोरी किन
हे आमा ! अब यादमा बसिदियौ बोल्दैन त्यो तस्बिर
फिर्दैर्छ्यौ कि कतै यतै तिर भनी हेर्दैछु बाटातिर !
आँखाबाट बलिन्द्र बग्छ भल भै थामिन्न यो निर्झर
आमाझैँ ममता दिने हृदयको अर्को यहाँ को छ र
बित्दैछन् दिन बार साल महिना छन् याद बाँकी अब
ताते हात छुट्यो र साथ गतिलाे , मेरी थियौ वैभव !!
खोली नेत्र पुलुक्क खोज्छु दुनियाँ अन्धो स्वयं हुन्छु म
न्यानो काख नपाउँदा मनमनै आमाविना रुन्छु म
पाखा रुन्छ वियोगमा क्षितिजका रित्ता रहे टाकुरा
सारा लोक तिमीबिना सब कठै ! निस्तब्ध भो यो धरा !!
धेरै छन् स्मृतिभित्र अङ्कित कथा सम्झन्छु रातो दिन
हावा भित्र पसेर दूर नभमा चाँडै बिलायौ किन?
पानी प्यास थियो भने पनि अहो ! थोपै दिनै पाइनँ
रित्ता आज घडा रहे नजिकमा ! जाऊँ कता के लिन!!
आफ्नो भोग सकी बिदा जब भयौँ निस्तब्ध हामी भयौं
नासो छाडिगयौ उतातिर, यता झन् फेरि एक्लै भयौं
श्रद्धा गर्दछु पर्व तीर्थ तिर यो पोखी मनोकामना !
बाँकी जीवनमा परे पिर भने गर्ने भयौं सामना
©रितु

No comments:
Post a Comment