पृथ्वीनारायण शाहको तस्वीर अङ्कित मुद्रा निकाल्न सुझाव - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 6 January 2021

पृथ्वीनारायण शाहको तस्वीर अङ्कित मुद्रा निकाल्न सुझाव


काठमाडौं, २२ पुस :
राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक भएकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउन सम्पूर्ण तह र तप्कासँग आह्वान गरिएको छ ।

समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका व्यक्तिले पृथ्वीनारायणको योगदानको सम्मान गर्दै उहाँको तस्वीर अङ्कित गरी सिक्का र नोट प्रकाशन गर्न सरकारसँग आग्रह गर्नुभयो । दुई सय ९९औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा यही पुस २७ गते रत्नपार्कमा आयोजना हुने भेलामा राष्ट्रिय झण्डामा एकताबद्ध हुन पनि उहाँहरुले पत्रकार सम्मेलनमार्फत अपिल गर्नुभएको छ ।

नेपाली एकताका प्रतीकका राष्ट्रिय विभूति पृथ्वीनारायणले त्यस समयमै अघि बढाउनुभएका पारदर्शी, उत्तरदायी, उद्योगधन्दा स्थापना, वातावरण सन्तुलन, परराष्ट्र नीति, सुरक्षा जस्ता विषय अहिले झन्झन् सान्दर्भिक बन्दै गएको स्मरण गरियो ।

सो अवसरमा अभिनेत्री मनिषा कोइरालाले राष्ट्रनिर्माताको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस भव्यरुपमा बनाउन सम्पूर्ण नेपालीजनलाई आह्वान गर्नुभयो ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मनुभएका पृथ्वीनारायणले त्यस समयका ससाना राष्ट्रलाई एकीकरण गरी चार वर्ण र छत्तीस जातको साझा फूलबारीका रुपमा नेपाललाई अघि बढाउनुभएको थियो ।

राष्ट्रिय झण्डामा एकताबद्ध भई राष्ट्रियता, राष्ट्रिय एकता, स्थिरता, आत्मस्वाभिमान, समृद्धि र सुशासनका पक्षमा उभिन सबै नागरिकसँग आग्रह गर्दै वक्ताले एकता दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग माग गर्नुभयो ।

पृथ्वीनारायणको जन्मस्थान संरक्षण, योगदानका गाथा समेटिएको सङ्ग्रहालय स्थापना, दिव्योपदेश विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश तथा जीवनी समेटिएको वृत्तचित्र बनाउन पनि सो अवसरमा सरकारसँग माग गरियो ।

सो अवसरमा नेकपा -माले_का महासचिव सिपी मैनाली, वामपन्थी नेता राधाकृष्ण मैनाली, पुराना राजनीतिज्ञ हरिबोल भट्टराई, प्रेम कैदी, विपीन कोइराला, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेल, गुरु वशिष्ठ, प्रा डा उत्तम कर्माचार्य, अभियानकर्मी सुरेन्द्र भण्डारीलगायतले सम्पूर्ण जीवन एकीकरणमा खर्चनुभएका राष्ट्रनिर्माताको दिव्योपदेशलाई बेवास्ता गरिँदा मुलुकले विदेशी हस्तक्षेपको सामना गर्न परेको घटना सुनाउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.