काठमाडौँ, ३ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व र कर्तव्य भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अब यतिबेला देशवासी तमाम दाजुभाइ दिदीबहिनीहरुले सोच्नुपर्ने अवस्था आएको बताउनुभएको छ । कहिले एउटा विधेयक भन्यो माइतीघर मण्डल, कहिले अर्को विधेयक भन्यो माइतीघर मण्डल । विधेयक त छलफल गर्न संसद् छ नि । संसद्मा छलफल गर्न सकिन्छ, रायसुझाव लिन सकिन्छ । सरोकारवालासँग कुरा गर्न सकिन्छ । सरोकारवालाहरुले हामीलाई भन्न सक्छन् तर माइतीघर त साँच्चैको माइतीघर रहेछ । यताउति केही प¥यो कि गुरुरु कुदेर मलाई घरमा यस्तो गरे भनेर माइतीघर जाने ।
अब जसो गरे पनि अनवरत आन्दोलन । मैले अस्तिको दिन एयरपोर्टमा पनि भनेँ, नेपालमा सङ्घर्ष गरेर, बलिदान दिएर, दुःख कष्ट बेहोरेर, लडाइँ गरेर हामीले प्राप्त गरेको यो सफलता ल्याउने अहिले लिडरसिप छ । अहिलेको लिडरसिप कुनै फरक ढङ्गबाट आएको लिडरसिप होइन । अहिलेको आन्दोलनबाट, विगतका आन्दोलनबाट आएको, आन्दोलनका उतारचढाव देखेको लिडरसिप छ ।
यतिबेला आन्दोलन गरिराख्नु पर्दैन । लोकतन्त्रमा संवादबाट सबै कुराको समाधान गर्न सकिन्छ । संवादबाट समाधानको बाटो उचित बाटो हो । द्वन्द्वग्रस्त ठाउँहरु, द्वन्द्वरत ठाउँहरुमा पनि संवादबाट कुरा टुंगिन्छन् । लडाइँ भइराखेको ठाउँमा संवादबाट टुङ्गिन्छ । हाम्रो देशमा पनि द्वन्द्व थियो, संवादबाट टुङ्गियो । लडाइँबाट टुङ्गिएन । संवादबाट टुङ्गियो । लडाइँ संवादबाट टुङ्गिन्छ, वातचितबाट टुङ्गिन्छ भने सानातिना कुरा वातचितबाट नटुङ्गिने होइन । यो थाहा नभएको कुरा होइन कसैलाई तर आवेश, उत्तेजना फैलाएर वातावरण बिगारेर अनि आफ्नो दुनो सोझाउन खोज्ने ? त्यसका निम्ति सधैँ माइतीघर मण्डल, सधैँ सडक, सधँै सडक, यो गरिरहनुपर्ने आवश्यकता छैन ।
म फेरि पनि भन्छु, यो सरकार जनताको सरकार हो । जनताले चुनेको सरकार हो । जनताले जे भन्छन्, जनता जे चाहन्छन्, जनताको हित जे गर्दा हुन्छ, त्यही गर्छ यस सरकारले । देशको समृद्धि र विकास यसको अभिष्ट हो ।
तसर्थ म सबैलाई भन्न चाहन्छु, यस्ता कुराहरुमा लाग्न हुँदैन । यो लोकतन्त्र विरोधी गतिविधि, लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि, प्रयासहरुलाई बिथोल्ने गतिविधिका प्रयास, विकासका कामतर्फ सरकारलाई अगाडि बढ्न नदिने गतिविधि र अनुचित, अवाञ्छित विरोधका स्वरहरु वास्तवमा सामयिक छ्रैनन्, समायानुकूल छैनन्, उपयुक्त र आवश्यक पनि छैनन् ।
म आह्वान गर्न चाहन्छु, सबैलाई जे असन्तुष्टि छ, जे मतभेद छ, आउनुस् बसौंँ, छलफल गरौंँ । आफ्नै जिद्दी पूरा हुनुपर्ने कुरा त गर्न सकिँदैन । छलफलबाट कुराहरु निस्किन्छन् । त्यसमा संवादका तरिका हुन्छन् । देशलाई फाइदा हुने, जनतालाई फाइदा हुने, लोकतन्त्र सुदृढ हुने र देश अगाडि बढाउने काम गरौंँ । त्यसका निम्ति सरकार खुला छ, तयार छ सदैव संवादका निम्ति, कुराकानीका निम्ति । समस्या सुन्नका निम्ति, समाधान गर्नका लागि सरकार तयार छ ।
म नेपाली जनतालाई आह्वान गर्न चाहन्छु, हामीले पटक पटक लडेर लोकतन्त्र ल्यायौंँ तर हामीलाई भड्काइ भड्काइकन, बिथोली बिथोलिकन, फेरि वातावरण बिगारी बिगारीकन गुमाएका छौं । सात सालको आन्दोलन सफल भयो तर त्यो आन्दोलनलाई थिग्य्राउन कति वर्ष लाग्यो ? आठ वर्ष थिग्रन लाग्यो, डेढ दुई वर्षमा खत्तम भयो ।
राजनीतिक शक्तिहरुलाई म आग्रह गर्न चाहन्छु, पटक पटक जनताका अधिकार दरबारमा बुझाइएको इतिहास आवेश, उत्तेजना र भावनामा बगेर नदोहो¥याऔँँ ।
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्नु हाम्रो कर्तव्य हो । त्यस कुरामा ध्यान दिऔंँ । राजनीतिक शक्तिहरुलाई पनि म भन्न चाहन्छु, पार्टीहरुलाई पनि म भन्न चाहन्छु । जनतालाई म आग्रह गर्न चाहन्छु, हामीले लडेर, बलिदान दिएर ल्याएको लोकतन्त्र पछाडि बसेर प्रोभोक गर्ने तत्वहरुलाई कहिले लाठी लाग्दैन । ती प्रोभोक गरेर अघि छड्केका हुन्छन् । अनि सर्वसाधारणलाई पारिदिन्छन् । अनि पछि भन्छन्, नोक्सान भयो, क्षति भयो, के ग¥यो सरकारले ? फेरि गराउने तिनीहरु नै हुन् । यस्तो कुराबाट हामी अब पनि सजग नहुनु उचित हुँदैन । मेरो आग्रह यो छ । जनताले लोकतन्त्रको रक्षा गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । (रासस)

No comments:
Post a Comment