इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको हत्या भएको एर्डोगानको आरोप - pharaksandesh.com

मुख्य समाचार


Thursday, 20 June 2019

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको हत्या भएको एर्डोगानको आरोप

इस्तानबुल, ५ असार :  टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको हत्या भएको आरोप लगाउनुभएको छ । 

“अदालतमा बयान दिँदै गर्दा बेहोस भएर उहाँको निधन भएको बताइए पनि अधिकारीहरूले उहाँलाई बचाउन सकेनन्,” इस्तानबुलमा बुधबार एक वक्तव्यमा उहाँले भन्नुभयो । 

उहाँले फेरी थप्नुभयो, “मोर्सीको हत्या भएको हो, उहाँको प्राकृतिक निधन भएको होइन ।” उहाँले मोर्सीको मृत्युका बारेमा थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो । 

यसअघि मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले मोर्सीको निधनबारे निष्पक्ष छानबिनको माग गरेको थियो । 

हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले उहाँको निधन भएको हुनसक्ने एमनेस्टीको आशङ्का छ । त्यसैगरी मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । 

राज्यद्वारा सञ्चालित टेलिभिजनले स्रोतहरूलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटुसम्बन्धी समस्याका कारण निधन भएको जनाएको छ । 

इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको घोषणा गरिएको थियो । 

कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उहाँका वकिलहरूले जनाएका छन् । 

“अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उहाँ ढल्नुभयो, त्यसपछि तत्कालै उहाँलाई अस्पताल लगियो, तर अस्पतालले उहाँको निधन भइसकेको घोषणा ग¥यो” न्यायाधिवक्ताको कार्यालयले भनेको छ । 

“उहाँलाई स्थानीय समयानुसार अपराह्न ४.५० मा अस्पताल ल्याइएको थियो, त्यतिबेला उहाँको निधन भइसकेको थियो, शरीरमा घाउचोट देखिएको छैन,” अस्पताल स्रोतले भन्यो ।

उहाँका कारण अदालती कारवाहीमा बाधा नपुगोस भनेर उहाँलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो । 

उहाँ सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षमै अपदस्थ भएदेखि नै उहाँलाई आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुनेगरी कारागारमा राखिएको थियो ।

जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शङ्कास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन उहाँ अदालत उपस्थित हुनुभएको थियो । उहाँलाई अन्य तीन मुद्दाको निर्णयबमोजिम ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो । तर उहाँका समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउँदै आएका छन् ।(रासस/एएफपी)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.