नयाँ तीज गीत बजारमा - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 July 2019

नयाँ तीज गीत बजारमा

काठमाडौँ, ६ साउन  : सञ्चारकर्मी गीता अधिकारीको दोस्रो गीति क्यासेट ‘तीजमै व्रत बसी...’ आजदेखि बजारमा आएको छ । मिलाप मासिक खबर पत्रिकाको प्रस्तुति रहेको उक्त क्यासेटमा हिन्दू नारीको शिव शक्तिप्रतिको प्रभाव, बाबाले किनिदिएको फरिया र आमाले पकाएको दर खाएर बस्ने व्रतको संस्कृतिले घर–माइतीको सम्बन्धलाई निकट बनाउने सन्देश दर्शाइएको छ । 

पछिल्लो समय तीज पर्वका नाममा विभिन्न स्थानमा हुने जमघट तथा त्यहाँ प्रयोग हुने मदिरा, मासुुजस्ता विषयवस्तुले निम्ताएको विकृतिले तीजका महत्व घट्दै गएको विषयलाई समेटिएको छ । आज आयोजित कार्यक्रममा गीतकार डिआर उपाध्यायले परम्परादेखि चल्दै आएको तीजले सामाजिक विकृति तथा महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान गरेको विचार व्यक्त गर्नुुभयो । 

वरिष्ठ सङ्गीतकार राजु सिंहले मानव सभ्यतालाई सुसंस्कृत बनाउन तीजलाई संस्कृतिका पर्वका रुपमा विकास गरिएको बताउनुुभयो । गीतकार अधिकारीले माइतीसँग मिलन हुने सांस्कृतिक पर्व तीजले विविधतामा एकता थप्ने बताउँदै महिला समुदायले स्थानीय माटोको स्मरण गर्ने हुँदा चेलीको बालापनलाई महत्व दिएर उक्त गीत रचना गरिएको बताउनुभयो । 

उहाँ चलचित्र पत्रकार सङ्घको उपाध्यक्षसमेत हुनुहुन्छ । यसअघि अधिकारीले ‘यतै घमाइलो उतै घमाइलो’ गीति क्यासेट प्रकाशन गर्नुभएको थियो । मिलाप मासिक खबर पत्रिकाका प्रकाशक कृष्ण भुसालले गाउँले जनजीवनमा नारीका व्यथा, पीडालाई तीजका गीतमार्फत बाहिर ल्याउने प्रचलन रहेको बताउँदै गाउँघरमा प्रयोग हुने मौलिक भाषा तथा वेशभूषा संस्कृतिलाई क्यासेटमा सङ्ग्रह गरिएको जानकारी दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.