भक्तपुर - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 July 2019

भक्तपुर

कविता 
सुष्मा खड्का 
खर्पन बोकेर अघिअघि कुदिरहेका पाइलाहरुलाई 
मेरा आँखाहरुले खोजिरहन्छन् अझैपनि
भक्तपुरका साँघुरा गल्लिहरुमा 
सागका सानासाना मुठाहरुमा
बाँधिएका परालका त्यान्द्राहरुले
मलाई सम्झाइ रहन्छ तिमीसंग बाँधिएको मेरो जिन्दगी 
बाटोभरी सुकाइएका अन्न 
आँखा अघि नाचिरहन्छ
आँगनभरि फिँजारिएका माटोका भाडाहरु
म टक्क उभिएर नियाल्छु 
काँचा खुत्रुकेलाई हातमा लिएर 
एकनजर ती कुमाले दाइका चक्र भएतिर फ्याक्छु
त्यो घुमिरहेको चक्र हेर्दा
तिम्रो हात समातेर एक फन्को मारेको
सिद्ध पोखरी सम्झिएर घोत्लिन्छु
पोखरीको धमिलो पानीले 
आज पनि उसैगरी धमिल्याएको छ यो मनलाई 
तरपनि खै किन धमिल्याउन सकेको छैन यादहरु 
ढोका र झ्याल छलेर 
झुण्ड्याएका खुर्सानीका झुप्पाहरुले कुनै नौलो चित्रकारी प्रस्तुत गरिरहेछन्
भक्तपुरको जु जु धौ को मिठो स्वाद 
अझै ताजै छ जिब्रोमा 
चाहेर पनि बिर्सिन नसक्दा
अझै गाढा भएर बसेको छ मस्तिष्कमा
न्यातापोलको खुट्किला 
नामहरुले भरिएका सिला
सबैले गतिला घाउ दिएर गएका छन् 
यी भक्तपुरका कलाहरुमा 
तिमीसंगको वितेका मिठा पलहरुको याद जो गाँसिएको छ 
पिडाले भरिएको छ मन 
र पनि जसोतसो हाँसिएको छ 
भक्तपुरको मन्दिरका पेटीहरुमा
तिम्रो कुममा शिर राखेर निदाएको पल
उसैगरी आँखाअघि सल्बलाउँछ 
न्यातापोलको खुट्किलामा बसेर
गजुरतिर नजर पुर्याउँदै 'हजुर' भनेर गरेको सम्बोधन 
जसले बदलिदिएको छ मेरो सोच मेरो जीवन 
भुँइभरी छापिएका इँटा 
कुनै विशेष पाहुनाको आगमनमा विछ्याइएको 
रातो कार्पेट झै लाग्छ
साउने झरिले नबगाएको भए त
ती पैतालाका डोबहरु उस्तै होलान् है बाटोहरुमा
तिम्रा यादहरु जस्तै गाढा त नहोलान्
मधुरो नै सहि तर ती होलान् 
भक्तपुरका चोकहरुमा
यहाँको गाइजात्राले 
जिन्दगीमा खुसीको मात्रा थपिदिएको थियो 
ताधिनिसा घिनिसाको तालमा
ठोकिएका काठका लाठीहरुले
जीवनमा छुट्टै संगीत भरिदिएका थिए 
ती पलहरु मनभरी ताजै छन् 
जुन भक्तपुरको आँगनमा बाँचिएका थिए
सुकुलढोका अघि खाएको निम्की
दत्तात्रयको मन्दिर अघि चारा टिपिरहेका परेवा 
मकैका झुप्पातिर हेर्न लगाएर तिमीले चुप्पा गरेको गाला
अनि म लाजले रातोपिरो भएको पल
तिमीले जिस्किएर भनेको कुरामा मेरो लत्पतिएको गाँजल
सबै कुराहरूसंग भक्तपुर गाँसिएको छ 
भादगाउँले टोपिमा सजिएको तिम्रो तस्वीर
यो मनमै बसेको थियो आखिर 
त्यही पहिरनमा तिमीसंग लिएको सेल्फि
ग्यालरीमाभन्दा पहिले नै मनमा सजाएकि थिएँ
लाग्छ केहि जादु त पक्कै छ 
यहाँका निला आकाशहरुमा
गलत हुने छैन यदि मैले भनें भने
आफ्नो पनको छुट्टै मिठास भेट्छु
भक्तपुरको सिरसिरे बतासहरुमा ।।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.