राष्ट्रसङ्घका आणविक मामिला प्रमुख अमानोको निधन - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 July 2019

राष्ट्रसङ्घका आणविक मामिला प्रमुख अमानोको निधन

भियना, ७ साउन : संयुक्त राष्ट्रसङ्घ, अन्तराष्ट्रिय आणविक शक्ति संगठन (आइएइए) का महानिर्देशक युकिया अमानोको निधन भएको उक्त सङ्गठनले सोमबार जानकारी गराएको छ । उहाँ ७२ बर्षको हुनुहुन्थ्यो । 

संयुक्त राष्ट्रसङ्घ आणविक संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अन्तराष्ट्रिय आणविक शक्ति संगठन सचिवालय संगठनका महानिर्देशक युकिया अमानोको दुःखद निधन को खबरले स्तब्ध भएको छ ।”

जापानी भूमिमा जन्मिएका अमानो राष्ट्रसङ्घ अन्तर्गतको आणविक हतियार नियमनकारी निकाय (आइएइए)को प्रमुखका रूपमा सन् २००९ देखि मृत्युपर्यन्त निरन्तर तीन कार्यकालसम्म काम गर्नुभएको थियो । आइएइएमा उहाँकै नेतृत्व रहेका समय संसारकै लागि महत्वपूर्ण मानिएको इरानसँगको आणविक सम्झौता भएको थियो । आइएइए प्रमुखका रूपमा अमानोले नै इरानसँगको आणविक सम्झौता (इरानसँगको आणविक हतियारसम्बन्धी संयुक्त वृहद कार्ययोजना–२०१५)लाई प्रमाणीकरण र नियमन गर्नुभएको थियो । 

भूतपूर्व अमेरिकी राष्ट्रपतिको पहलमा बेलायत, चीन, रूस, फ्रान्स, जर्मनीसहित छ शक्तिराष्ट्रहरू र यूरोपेली यूनियनले इरान उक्त सम्झौताका हस्ताक्षरकर्ता रहेका थिए । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै गत बर्षदेखि अमेरिका सम्झौताबाट फिर्ता भएको थियो । 

विज्ञप्तिमा भनिएको छ, “अमानोको नेतृत्वमा विगत एक दशकसम्म राष्ट्रसंघीय उक्त आणविक निकायले शान्ति र विकासका लागि आणविक शक्तिको निर्माण भन्ने उद्देश्य अनुरूप ठोस नतिजा प्राप्त गर्न सफलता पाउनुभएको थियो ।” आइएइएले अमानोको मृत्युको समय र कारणबारे केही उल्लेख गरेको छैन ।

कूटनीतिक स्रोतहरूले बुधबार सिन्ह्वालाई दिएको एक जानकारीमा अमानोको कार्यकाल सन् २०२१ सम्म रहेको भएपनि स्वास्थ्यको कारण सन् २०२० को मार्चसम्म पदबाट हट्ने योजना बनाउनुभएको थियो ।(रासस/सिन्ह्वा) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.