कफीखेतीको सम्भावना र माग उच्च - pharaksandesh.com

मुख्य समाचार


Monday, 8 July 2019

कफीखेतीको सम्भावना र माग उच्च

पाँचथर, २३ असार  : पाँचथर जिल्लामा कफीखेतीको सम्भावना उच्च रहेको पाइएको छ । जिल्लाको दक्षिणी गाउँपालिका तुम्बेवाले माटोको परीक्षण गरेर कफीखेतीका लागि लगानी नै गरेको छ । गाँउपालिकाका उपप्रमुुख धन साँवाका अनुसार कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रूपमा स्थापित गर्न चालू आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेर बेर्ना उत्पादनकार्य शुरु गरिएको छ । 

साँवाले भन्नुभयो, “कफीको बजार राम्रो छ, हामीले हाम्रो गाउँपालिकामा हावापानी सुहाउँदिलो भएकाले कफीमा लगानी गरेका हौँ । आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिनेछौँ । कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रूपमा स्थापित गर्न रु २० लाख विनियोजन गरेर बेर्ना उत्पादनकार्य शुरु गरेका हौँ ।”

जिल्लाको फिदिम नगरपालिका, याङवर, हिलिहाङ, मिक्लाजुङ, फालेलुङ, फाल्गुनन्द गाउँपालिकासहितका स्थानमा कफीखेतीको सम्भावना प्रशस्तै रहेको बताइन्छ । प्रचुर सम्भावना बोकेको नगदेबालीको रूपमा स्थापित कफीलाई व्यावसायिक ढङ्गले प्रवद्र्धन गरेर लानुपर्ने चिया तथा कफी विकास बोर्डका उपनिर्देशक लक्ष्मणप्रसाद पोखरेलले बताउनुभयो । पोखरेलले भन्नुभयो, “कफी स्वस्थ्यका लागि समेत राम्रो हो, नेपाली कफीको माग विश्व बजारमा उच्च भएकाले बजार नपाइएला भन्ने विषयमा कसैले चिन्ता लिनु पर्दैन । नेपाली कफीको आन्तरिक र बाह्य रूपमा १५ हजार मेट्रिकटन माग भए पनि देशमा उत्पादित एक हजार ५०० मेट्रिकटनमध्ये ५१३ मेट्रिकटन मात्र निर्यात भएकोे तथ्याङ्क छ ।” 

नेपालबाट चालू आर्थिक वर्षको ११ महीनामा ७३ हजार ८०० केजी कफी जापान, अमेरिकालगायत बाहिरी मुलुकमा निर्यात भएको छ । त्यसबाट रु आठ करोड ६३ लाख बराबरको विदेशी मुद्रा आर्जन भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । नेपालमा ६२ जिल्लाका ४२४ स्थानीय निकायमा कफीखेतीको सम्भावना भएको तथ्याङ्कले देखाउँछ । नेपालमा व्यावसायिक कफीखेती सर्वेक्षणले ५० भन्दा बढी बोट रोपेर गरिने कफीको खेतीलाई व्यावसायिक कफीखेती मानिएको छ । 

नेपालमा १२ लाख हेक्टर क्षेत्रफल कफीखेतीका लागि सम्भावित क्षेत्र पहिचान भएर ३२ हजार किसानले दुई हजार ६५० हेक्टर जमीनमा कफी लगाएको केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले देखाएको छ । खासगरी प्रदेश नं १, ३, ५ र गण्डकीमा कफीको व्यावसायिक खेती हुँदै आएको छ । तीमध्ये प्रदेश नं ३ मा सबैभन्दा बढी वार्षिक ७५७ मेट्रिकटन कफी उत्पादन भएको छ । 

प्रदेश ३ का १० जिल्लामा व्यावसायिकरूपमा कफीखेती हुने गरेको सर्वेक्षणले देखाएको छ । तीमध्ये सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा र सबैभन्दा कम मकवानपुरका किसान कफीको व्यावसायिक खेतीमा संलग्न छन् । यसका साथै गण्डकी प्रदेशका आठ जिल्ला, प्रदेश नं ५ का चार जिल्ला, प्रदेश नं १ का १० जिल्ला कफीखेतीका लागि प्रचुर सम्भावना भएकाले युवापुस्तालाई आकर्षण गर्नुपर्ने पोखरेलको भनाइ छ । किसानलाई गुणस्तरीय कफीखेती गर्न प्राविधिक सेवा, सिँचाइ सुविधा, सहज तथा सहुलियतपूर्ण ऋण, मल, बीउ उपलव्ध गराउन सके कफीको उत्पादन राम्रो भई अर्थतन्त्रमा समेत टेवा पुग्ने सरोकारवालाको बुझाइ छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.