काठेपुल बगाएपछि क्यूङ गाउँमा सम्पर्क विच्छेद - pharaksandesh.com

मुख्य समाचार


Saturday, 20 July 2019

काठेपुल बगाएपछि क्यूङ गाउँमा सम्पर्क विच्छेद

धादिङ, ४ साउन : विकट उत्तरी धादिङको खनियावास गाउँपालिका–२ क्यूङ गाउँबाट अन्य गाउँतर्फ जाने एक मात्र काठेपुल बाढीले बगाएपछि सो गाउँको अन्य गाउँसँग सम्पर्क विच्छेद भएको छ । 

केही दिनदेखिको लगातारको वर्षाले मुङगङ खोलामा रहेको काठेपुल बगाएपछि एक सातादेखि गाउँमा आवतजावत बन्द भएको खनियावास गाउँपालिका–२ नम्बर वडाध्यक्ष टेकबहादुर तामाङले बताउनुभयो । ६३ घरधुरी रहेको सो विकट गाउँमा पुग्न सदरमुकामबाट दुई दिनको पैदल यात्रा गर्नुपर्छ । वर्षायाम लागेपछि गाउँ पुग्न पैदल हिड्नुपर्ने हुन्छ । 

गाउँमा काठेपुल बगाएपछि वडा कार्यालयले काठेपुल बनाउन गाउँवासीलाई आग्रह गरेपनि गाउँमा युवा नभएपछि बनाउन नसकिएको वडाध्यक्ष तामाङले बताउनुभयो । 

क्यूङ गाउँस्थित थलीमा रहेको १० घरमध्ये सात जना मात्र गाउँमा छन् । गाउँमा कोही पनि नभएकोले थली गाउँ शून्य अवस्थामा छ । कन्द्राङ १३ घर, गोरगङ गाउँमा पाँच घर रहेको छ । गाउँभरीमा युवा तथा तन्नेरीहरु कोही नभएपछि गाउँमा गरिने विकासका कामसमेत प्रभावित भएको छ । बुढापाका र बालबालिका मात्र गाउँमा रहेकोले साधारण रुपमा गर्न सकिने काठेपुल बनाउन आवश्यक जनशक्ति छैन ।

कोही मानिस बिरामी भयो भने बोकेर स्वास्थ्य चौकीसम्म लाने मानिससमेत नभएको गाउँवासीको भनाइ छ । गाउँमा यातायात, सञ्चार नभएपछि गाउँवासी पलायन हुँदै गएको र वर्षमा छ महीना भारततर्फ काम गर्न गएकाले गाउँ युवा विहीन भएको हो । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.