भीमदत्तनगर, २७ असार : कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध जाहेरी दर्ता गराएको छन् ।
विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानको जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल यशोदा जोशी, व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरा र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीविरुद्ध जाहेरी दर्ता भएको बताउनुभयो ।
प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउँदै उहाँले घटनाको धेरै कोणबाट अध्ययन भइरहेको जानकारी दिनुभयो ।(रासस)

No comments:
Post a Comment