बक्राहामा कटान शुरु, हजारभन्दा बढी परिवार प्रभावित हुने - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

बक्राहामा कटान शुरु, हजारभन्दा बढी परिवार प्रभावित हुने

पथरी, २९ असार : मोरङको बक्राहा खोलाको पानीले कटान शुरु गरेपछि जिल्लाका उर्लाबारी, पथरीशनिश्चरे, रतुवामाई र सुनवर्षी नगरपालिकाका १ हजारभन्दा बढी परिवारमा त्रास फैलिएको छ ।

पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ मा पर्ने सुन्दरी चोक दक्षिणमा रहेको जयनघण्टाबाट बक्राहाले कटान गर्न शुरु गरेको छ ।

खोलाले पुरानो तटबन्धमा कटान शुरु गरेको वडाध्यक्ष जोगबहादुर धिमालले बताउनुभयो । बिहानैदेखि कटान थालेको नदीले हालसम्म १५ मिटरभन्दा बढी कटान गरिसकेको स्थानीय बताउँछन् । कटान नियन्त्रणका लागि प्रयोग गरिएका ३ वटा तारजालीसहितको स्पेयर मध्ये एउटा स्पेयर भने खोलाले बगाएर लगेको स्थानीयले बताए ।

सो क्षेत्रबाट कटान गरी खोलो गाउँ पसेमा पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ५ का १ हजार ६ सय ६८ घर परिवारको ४ हजार जनसङ्ख्या प्रभावित हुने वडाध्यक्ष धिमाल बताउनुहुन्छ । साथै वडा नम्बर ६ को आधा भूभाग, सुनवर्षी नगरपालिकाको वडा नम्बर २ को भूभाग समेत डुबानको चपेटामा पर्ने उच्च जोखिम रहेको छ ।

हाल सो क्षेत्रमा स्काभेटर प्रयोग गरेर स्थानिय सरकारको पहलमा खोलालाई नियन्त्रण गर्ने काम अघि बढाइएको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.