हनुमन्ते खोलामा बगेका युवकको उद्दार - pharaksandesh.com

मुख्य समाचार


Friday, 12 July 2019

हनुमन्ते खोलामा बगेका युवकको उद्दार

भक्तपुर, २७ असार : लगातारको वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले बगाएका एक युवाको प्रहरीले उद्धार गरेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित हनुमन्ते खोला किनारमा हिँडिरहेको अवस्थामा काभ्रे कोशीपारी घर भई हाल बालकोट बस्ने ३२ वर्षीय सन्तोष पहरीलाई उर्लिएर आएको बाढीले बगाएको थियो । 

खोलाले बगाए लगत्तै महानगरीय प्रहरी प्रभाग भक्तपुरको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्दार गरी नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घाइतेको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । 

खोलामा आएको बाढीका कारण भक्तपुर र मध्यपुरथिमिका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । हनुमन्ते खोलाको किनारामा रहेका बस्तीका बासिन्दा बस्ती छाडेर सुरक्षित स्थानमा जान थालेका छन् । खोलाको बहाब बढेर बस्तीमा पानी पस्न थालेपछि जगाती, हनुमानघाट, चुपिनघाट, सल्लाघारी, राधेराधे, बालकोट, सागबारी लगायतका क्षेत्रमा टहरामा बस्दै आएका बासिन्दा सुरक्षित स्थानतर्फ गएका प्रहरीले जनाएको छ । 

खोला किनाराका सयौँ घरमा बाढी पसेपछि यहाँका बासिन्दाले बस्ती छाडेका हुन् । बालकोटको नयाँ बेलिब्रिज र मध्यपुरथिमि दधिकोट जोड्ने हनुमन्ते पुल भाँसिएर भत्कने अवस्थामा पुगेको छ । जिल्ला प्रशासन कार्यालयले बाढीबाट सर्तक रहन र सुरक्षित स्थानमा जान खोला किनाराका बासिन्दालाई आग्रह गरेको छ भने उद्धार सामग्रीसहित सुरक्षाकर्मीलाई उच्च सर्तकतामा राखिएको प्रजिअ नारायण भट्टले जानकारी दिनुभयो । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.