चार दिनदेखि यातायात अवरुद्ध - pharaksandesh.com

मुख्य समाचार


Monday, 15 July 2019

चार दिनदेखि यातायात अवरुद्ध

गलेश्वर, ३० असार : संसारकै गहिरो अन्धगल्छीको माथिल्लोपट्टी रहेको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पहिरो गएपछि अन्धगल्छी सङ्कटमा परेको छ । 

कालीगण्डकी नदीले कटान गरेपछि सडक भासिएर पहिरो खसेको हो । धौलागिरि र अन्नपूर्ण हिमालको खोंचमा छ हजार ९६७ मिटरको गहिराइमा बनेको ‘अन्धगल्छी’ संसारकै गहिरो गल्छी हो । यहाँ कालीगण्डकी नदी लुकेर बगेको छ । 

शुक्रबार बेनी–जोमसोम सडकको सबैभन्दा साँघुरो र कठिन भूगोल रहेको भिरकाटे र बाँदरजुङ भिरमा सडक भासिएपछि अवरुद्ध भएका यातायातका साधन चार दिन बितिसक्दा पनि सञ्चालन हुन सकेका छैनन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाले चार दिनदेखि सडक मर्मत गर्ने गरेको प्रयास सफल हुन सकेको छैन । सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बेनी–जोमसोम सडकको सबैभन्दा साँघुरो र कठिन भूगोल रहेको भिरकाटे र बाँदरजुङ भिरमा एक–एक सय मिटर लामा सुरुङमार्ग वा अन्य विकल्पमा अध्ययन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “सडक भासिएर कुनै पनि समस्या आउने प्रायःनिश्चित थियो । जहाँ तलबाट वाल उठाएर सडक जोगाउन सकिने अवस्था नै थिएन ।” 

अहिले बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत सात मिटर कालोपत्रसहित ११ मिटर चौडा सडक बनाउने काम भइरहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिरदेखि मुस्ताङको सीमाक्षेत्र बाँदरजुङ भिरसम्मको करीब २० किमी खण्डमा बढी भिरपहरा र साँघुरो गल्छी भएकाले काम गर्न अप्ठ्यारो छ । 

बेनी–जोमसोम सडकको बाँदरजुङमा मात्र होइन, विभिन्न खोलामा रहेका बेलीव्रिज पनि नदी कटानको उच्च जोखिम छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत रहुघाट, कालीगण्डकी र अन्य साना खोलामा नयाँ पक्की पुल निर्माण गर्न फाउण्डेसन राख्ने क्रममा नदीको धार परिवर्तन भएकाले चालू अवस्थाका बेलीव्रिज कटानको जोखिममा परेका हुन् । ठाउँठाउँमा पहिरो खस्ने र सडक अवरुद्ध भएपछि यात्रु र सवारी चालक त्रसित बनेका छन् । बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट फर्कने यात्रु जोखिम मोलेर पैदल नै पहिरो पार गर्न बाध्य भएका छन् । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.