सुरुङ्गा, २४ असार : नेपाल विद्युत् प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरीब तथा विपन्न १३५ परिवारलाई निःशुल्क विद्युत मिटर प्रदान गरेको छ ।
नगरपालिका क्षेत्रभित्रका सबै वडाका गरीब घरपरिवारको पहिचान गरी निःशुल्क मिटर प्रदान गरिने लागेको हो । सोही अनुरुप आज पहिलो चरणमा नगरको वडानम्बर १ , २ र ३ का १३५ जनालाई निःशुल्क मिटर प्रदान गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
केही दिनभित्रै नगरपालिकालाई उज्यालो नगरको रुपमा समेत घोषणा गर्न लागिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । कनकाई नगरपालिकालाई केही महिना पहिलेमात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशकै पहिलो विद्युत चुहावतमुक्त पालिका घोषणा गर्नुभएको थियो ।
सोही कार्यक्रमको सफलतापछि कनकाई नगरपालिकालाई विद्युत् प्राधिकरणले यहाँका गरीब परिवारका लागि निःशुल्क विद्युत् मिटर खरीदका लागि ३० लाख रुपैयाँ विनियोजित गरेको थियो ।
विद्युत मिटर लिएपछि यसअघि आफूसँग जग्गाको धनीपूर्जा नहुँदा तथा आर्थिक कारणले घरमा मिटर जोड्न नपाएकाहरुले मिटर जडान गर्न पाएको नेपाल विद्युत प्राधिकरण उज्यालो नेपाल परियोजनाका कानून अधिकृत निलकण्ठ शर्माले बताउनुभयो ।
कनकाई नगरपालिकाका १, २ र ३ नम्बर वडाका गरीब स्थानीयलाई सोमबार नगरप्रमुख पोखरेल सहित, नेपाल विद्युत प्राधिकरण उज्यालो नेपाल अभियानका निर्देशक राजनऋषि कडेँल, कानुन अधिकृत निलकण्ठ शर्मा, कनकाई नगरपालिका उपप्रमुख मञ्जु प्रसाईं, वडाध्यक्षहरु रुद्रप्रसाद चिमरिया, रोशनराज पोखरेल, परशुराम गिरी लगायतले मिटर प्रदान गर्नुभयो ।

No comments:
Post a Comment