काठमाडौँ, ३१ असार : बेलाबेलामा हुने आन्दोलनका शहीदको योगदानले राजनीतिक परिवर्तन हुने भए पनि त्यसपछि सहादतलाई बिर्सने परम्परा बदल्नुपर्नेमा जोड दिइएको छ । शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले गोकर्णस्थित राष्ट्रिय शहीद स्मारक निर्माणस्थलमा आयोजित वृक्षरोपण समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री रामकुमार कार्कीले शहीदलाई सम्झँदा ग्लानी हुने हो कि भन्ने अनुभूति महत्वपूर्ण व्यक्तिले गर्ने गरेका बताउनुभयो ।
“समाजवादी व्यवस्थाका लागि जीवन गुमाएका शहीदको भावनाअनुसार काम हुन सकेन, बाबुराम भट्टराई, वर्षमान पुन, युवराज खतिवडा जो जो अर्थमन्त्री भए पनि बजेटले उदारवादी पूँजीवादलाई नै पछ्यायो, यो शहीदको भावना अनुकूल भएन”, उहाँले भन्नुभयो । राष्ट्रिय शहीद स्मारकका पूर्वअध्यक्ष सुदर्शन सिग्देलले शहीदका नाममा बन्न लागेको स्मारक निर्णय गर्ने स्थानमा बसेका कर्मचारीले गलत गुरुयोजना स्वीकृत गर्दा सम्पन्न हुन नसकेको बताउनुभयो ।
विसं २०७२ मै सम्पन्न हुनुपर्ने स्मारक चार वर्ष बित्दा पनि नबनेको उहाँको भनाइ थियो । विसं २०६८ मा निर्माण शुरु गरिएको स्मारक अझै अलपत्र छ । आधा आधा बनेका भवन पूर्ण हुन सकेका छैनन् । फाउण्डेशनले स्मारक निर्माणस्थलमा विभिन्न जातका ५० वटा वृक्षरोपण गरेको थियो ।
कार्यक्रममा शहीद पुत्र विकास वाग्ले, प्रतीक वाग्ले, शहीद परिवारका युवराज चौलागाईंलगायतले सत्तणमा पुगेपछि शहीदको सपना बिर्सने परिपाटीमा परिवर्तन ल्याउन माग गर्नुभयो ।(रासस)

No comments:
Post a Comment