जिल्ला इञ्चार्जसहित नेता तथा कार्यकर्ता नेकपामा - pharaksandesh.com

मुख्य समाचार


Thursday, 11 July 2019

जिल्ला इञ्चार्जसहित नेता तथा कार्यकर्ता नेकपामा

काठमाडौँ, २६ असार :  नेत्र विक्रम चन्द समूहका मेची–कोशी ब्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्जसहित केही नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । 

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई आज आफ्नै निवास खुमलटारमा स्वागत गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकताअनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडल दिने नेतृत्वको सपना भएको बताउनुभयो । 

उहाँले बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समूह एकजुट भई यो महान् उद्देश्य पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीको झण्डामुनि रहेका साथीलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धितिर देशलाई लैजान सकिन्छ । हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो । हामी एकजुट हुँदा नै हामी बलियो हुने हो ।”

जो जहाँ ब्युँझियो त्यहीँबाट उठेर हिँड्ने हो, सबै ब्युँझाउँछु भन्न थाल्दा सम्भव नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले विशाल पार्टीको आधार तयार गरेका छौँ, यहाँ सबै अट्छन् ।” अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका वरिष्ठ नेतालाई पनि नेकपामा आउन आह्वान गर्दै उहाँहरुको योगदानको कदर नेकपामा हुने बताउनुभयो । 

पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आउनुभएको मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इञ्चार्ज सौगात आचार्यले आफूहरुले हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने आफूहरुलाई नलागेको बताउनुभयो । उहाँले जुन व्यवस्था ल्याए पनि फेरि युद्ध गर्ने र मानिस मर्ने नभए हुन्थ्यो भन्ने जनताले आफूहरुलाई दिएको सुझावका कारण आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको बताउनुभयो । 

कार्यक्रममा सगरमाथा ब्यूरो सदस्य एवम् सङ्खुवासभा सेक्रेटरी छिरिङ शेर्पा, पाँचथर जिल्ला सचिवालय सदस्य वीरेन्द्र मगराती, झापा जिल्ला सदस्य नारदमणि साम्पाङ, सोलुखुम्बु जिल्ला सदस्य नवराज ढकाल, धनकुटा जिल्ला सदस्य एडी राई, सोलुखुम्बुका जिल्ला सेक्रेटरी वीरता खड्का, सङ्खुवासभा जिल्ला सदस्य प्रतिमान राई, कोशी व्यूरो सदस्य नवराज राई, चन्द समूहका युवा सङ्गठन सङ्खुवासभाका जिल्ला सदस्यहरु भरत चापागार्इं र हरि चापागाईं नेकपामा प्रवेश गर्नुभएको छ । नवप्रवेशीलाई अध्यक्ष दाहालले उचित जिम्मेवारी दिइने बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.