काठमाडाैँ, २८ असार : अविरल वर्षाका कारण खाेलानाला बढेपछि सप्तकाेशी नदीमा जलसतह बढेकाे छ । सप्तकोसी नदीकाे चतरामा आज असार २८ गते बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान शाखाले जनाएकाे छ । काेशीमा पानीकाे सतह र चाप बढ्दाे क्रममा रहेकाेले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन अाग्रह गरिएकाे छ ।
यसैगरी बाढी सूचना/पूर्वानुमान शाखाले कमला नदी-धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको जनाएकाे छ । शाखाका अनुसार वर्षा हुने क्रम जारी रहने देखिएकोले आज दिनभरि नै धनुषा तथा सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्र उच्च जाेखिममा छ । त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्कता अपनाउन अनुरोध गरिएकाे छ ।
बिहीबारदेखि भइरहेकाे अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिराेकाे उच्च प्रकाेप देखिएकाे छ । शनिबार पनि वर्षा जारी रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । कोसी व्यारेजमा हाल पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएका छन् । पानीको बहावमा निरन्तर बढेसँगै ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

No comments:
Post a Comment