खहरेको बाढीले यातायातसेवा अवरुद्ध - pharaksandesh.com

मुख्य समाचार


Monday, 15 July 2019

खहरेको बाढीले यातायातसेवा अवरुद्ध

ताप्लेजुङ, ३० असार : पाथीभरा याङवरक र सिरिजङ्घा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै गए रातिदेखि आएको बाढीका कारण थुम्बेदिन सिनाम सडकखण्डको यातायात सेवा अवरुद्ध भएको हो । 

खोलामा एक्कासि बाढी आएपछि आइतबार हप्पुखोला, सिनाम पुगेर फर्कने क्रममा बसेका सवारी साधन सिनामै रोकिएका छन् भने ताप्लेजुङ सदरमुकाम, पाँचथर, झापालगायत ठाउँबाट सिनाम, आम्बेगुदिनलगायत स्थान पुग्ने सवारी साधन पनि थुम्बेदिनबाटै फर्किएको सिनामवासी भीम थेबेले जानकारी दिनुभयो । बीचैमा सवारी साधन रोकिएकाले ती स्थानमा आवत–जावत गर्ने यात्रु अलपत्र परेका छन् । 

यसैगरी सिनाम र आम्बेगुदिनको बीचमा पर्ने नेबु खोला आसपासमा झरेको पहिरोले पनि बाटो अवरुद्ध बनाएको छ । वर्षाकै कारण ग्रामीण क्षेत्रका कच्ची सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरोसमेत झरेकाले सवारीसाधन सञ्चालन गर्न नसकिएको यातायात व्यावसायीहरूले बताएका छन् । 

“केही दिनदेखि फक्ताङलुङ, दोभानलगायत ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनले बेल्चा र कोदालोसमेत बोकेर प्रस्थान गर्ने गरेका छन्, कतिपय गाडी बाटो पन्छाउँदै गन्तव्यसम्म नै पुगेर फर्किन्छन् र कतिपय बीचैबाट फर्काउनुपर्ने हुन्छ”, जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र नेपालीले भन्नुभयो । प्राय ग्रामीण क्षेत्रका नयाँ सडकमा समस्या देखिएको उहाँकोे भनाइ थियो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.