विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गर्ने युवालाई सरकारकाे सम्मान - pharaksandesh.com

मुख्य समाचार


Sunday, 14 July 2019

विदेशबाट फर्किएर स्वदेशमै व्यवसाय गर्ने युवालाई सरकारकाे सम्मान

काठमाडौँ, २९ असार : वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सरकारले सम्मान गरेको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ६ व्यवसायका ७ जना उद्यमीहरुलाई सम्मान गरेको हो । एकजना उत्कृष्ट राष्ट्रिय उद्यमी र अरु ६ जना उद्यमी पुरस्कारबाट सम्मानित भएका छन् । 

कान्तिपुर पोल्ट्रि ब्रिडिङ फर्मका सञ्चालक नवराज पौड्याल नगद एक लाख रुपैयाँसहित उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

यस्तै डाइमण्ड स्टील उद्योगका सञ्चालक दीपक चापागाईँ, मैत्रीमंगल अर्गानिक कृषि फर्मका सञ्चालक निरबहादुर रावत र एकबहादुर सिङताङ, फिट वेल गार्मेन्ट उद्योगका सञ्चालक मनोजकुमार भारती, रामलक्ष्मण कृषि फर्म र राउत एण्ड सन्स बहुउदेश्यीय कृषि तथा पशुपालन फर्मकी सञ्चालिका शर्मिला अधिकारी र आलोक गार्मेन्ट उद्योगका सञ्चालक त्रिलोक पनेरु ५० हजार रुपैयाँसहित उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएकाे हाे ।

सम्मानित हुने सबै उद्यमीहरुले १५ देखि ९५ जनालाई रोजगारी दिएका छन् । सबैभन्दा बढी फिट वेल गार्मेन्ट उद्योगले ९५ जनालाई र कान्तिपुर पोल्ट्रि ब्रिडिङ फर्मले ४८ जनालाई रोजगारी प्रदान गरेका छन् ।

सम्मानित हुने उद्यमीहरुमध्ये दीपक चापागाईँ, मनोजकुमार भारती र त्रिलोक पनेरु दक्षिण कोरियाबाट फर्किएका हुन् । यस्तै शर्मिला अधिकारी र निरबहादुर रावत यूएईबाट फर्किएका हुन् भने एकबहादुर सिङताङ मलेसिया र नवराज पौड्याल दुबईबाट फर्किएका हुन् । 

उनीहरुलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टले सम्मान तथा पुरस्कार वितरण गर्नुभएकाे हाे ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.