काठमाडौँ, ३१ असार : सञ्चार क्षेत्रका विज्ञहरुले सूचनाको हक प्रयोग गरेर सूचना लिनका लागि पत्रकारलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घद्वारा यहाँ आज आयोजित “सूचनाको हकको कार्यान्वयनको अवस्था” विषयक अन्तक्र्रियामा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले पत्रकारले आफ्नो परिचयपत्र देखाएरभन्दा पनि प्रक्रिया पु¥याएर सूचनाको हकको प्रयोग गरेर सूचना लिन आग्रह गर्नुभयो ।
राज्यका काम कारवाहीलाई अधिकतम खुला र पारदर्शी बनाइ विधिको शासन स्थापित गर्नका लागि पनि पत्रकारले सूचनाको हकको प्रयोग गरेर सूचना लिनुपर्ने प्रमुख आयुक्त बाँस्कोटाको भनाइ छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि महासङ्घले सक्दो पहल गरिरहेको जानकारी दिनुभयो ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३(२) मा प्रत्येक नेपाली नागरिकलाई सूचनाको हक हुनेछ भनी उल्लेख गरिएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ४ अनुसार प्रत्येक सार्वजनिक निकायले नागरिकको सूचनाको हकको सम्मान र सरंक्षण गर्नु गराउनुपर्नेछ ।
नेपाली नागरिकको सुसूचित हुने हकलाई प्रभावकारी बनाउन सूचनाको हकसम्बन्धी ऐन, २०६४, सूचनाको हकसम्बन्धी नियमावली, २०६५, राष्ट्रिय सूचना आयोगको पुनरावेदनको कारवाही र किनारा गर्नेसम्बन्धी कार्यविधि, २०६७, राष्ट्रिय सूचना आयोगको निवेदनको कारवाही र किनारा गर्नेसम्बन्धी कार्यविधि, २०६७ जारी भई हाल कार्यान्वयनमा छन् । (रासस)

No comments:
Post a Comment