स्पेनी प्रधानमन्त्रीको विपक्षमा संसदको बहुमत - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 24 July 2019

स्पेनी प्रधानमन्त्रीको विपक्षमा संसदको बहुमत

म्याड्रिड, स्पेन, ८ साउन : स्पेनका कामचलाउ प्रधानमन्त्री पेद्रो साञ्चेजले संसदीय विश्वासका लागि भएको पहिलो चरणको मतदानमा मङ्गलबार पराजयको सामना गर्नुभएको छ । 

कुल ३५० सदस्य रहेको संसदमा जम्मा १२४ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् भने बहुमत अर्थात् १७० सदस्यले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । मतदानमा ५२ सदस्यले मतदानमा भाग नलिएका र चार जना सांसद सदस्य निलम्वनमा रहेका कारण मतदानमा सहभागिता नजनाएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्रीले आगामी बिहीबार विश्वासको मतका लागि दोस्रो चरणको मतदानको सामना गर्नुहुनेछ ।

प्रधानमन्त्रीले निर्णायक मतदानमा विश्वासको मतको सुनिश्चितताका लागि कुनै समय साञ्चेजको दलको प्रमुख प्रतिस्पर्धी रहेको वामपन्थी पोदेमोससँग गठबन्धनका लागि छलफल गर्ने बताइएको छ ।

गत अप्रिलमा भएको निर्वाचनमा साञ्चेजको दलले कुल १२३ सीट ल्याएको थियो जसका कारण गठबन्धन सरकार नै बनाउनुपर्ने बाध्यता बनेको थियो । साञ्चेजले पोदेमोससहित केही क्षेत्रीय दलसँग गठबन्धनका लागि सोमबार र मङ्गलबार छलफल गरेपनि सहमति जुट्न सकेको छैन । (रासस/एएफपी)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.