मुख्यमन्त्री कपको फाइनल धरानमा हुने - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 10 July 2019

मुख्यमन्त्री कपको फाइनल धरानमा हुने

धरान, २५ असार : मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता प्रदेश १ को अन्तिम चरण र फाइनल खेल धरानमा हुने भएको छ । 

विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले खराब मौसमका कारण पूर्व निर्धारित विराटनगरको सहिद रंगशालामा खेल हुन नसकेको बताउनुभयो । मौसमले साथ नदिंदा विराटनगरमा हुने भनेको खेल अन्तिम समयमा आएर धरानमा सार्नु गर्नु परेको उहाँको भनाइ छ । वर्षाका कारण सहिद रंगशाला डुबानमा परेको छ ।

राईले उपाधि विजेताका लागि प्रदान गरिने चार किलो चाँदीको ट्रफी समेत सार्वजनिक गर्नुभयो । प्रदेश १ को नक्सा अंकित भएको ट्रफीको मूल्यको जानकारी भने उहाँले दिन चाहनुभएन । सो ट्रफी विजेता टोलीले एक महिनासम्म उत्साह र खुशीयाली मनाउन मात्रै राख्न पाउने बताउँदै राईले त्यसपछि पुनः आयोजकलाई फिर्ता गर्नु पर्ने बताउनुभयो । अर्कोपटक रनिङ शिल्डका रुपमा प्रतियोगिता हुने उहाँको भनाइ छ ।

त्यसैगरि, प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ हात पार्ने छन् । पत्रकार सम्मेलनका क्रममा बजेटका विषयमा उठेका टिकाटिप्पणी र कम समयमा सम्पन्न गर्नुपर्ने प्रतियोगिता निष्पक्ष भएको राईको दाबी छ । मध्य वर्खामा बजेट सक्न टालटुले हिसावले मात्रै फुटबल आयोजना गरिएको र त्यहाँ ठूलै अनियमिता हुने आशंका र विरोधका बावजुत अन्तिम चरणको खेल शुक्रबारदेखि धरानमा हुने भएको हो । यस अघि विराटनगरमा भने बिहीबारबाट खेल गर्ने तय भएको थियो ।

प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच स्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल आगामी सोमबार हुने बताइएको छ । यसअघिको प्रतियोगितामा उदयपुर, धरान र इलाममा १४ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । सो क्रममा ८ वटा टोली पहिलो चरणबाट बाहिरिएका छन् । प्रतियोगिताका लागि १ करोड प्रदेश सरकार र ३३ लाख रुपैयाँ एन्फाले ब्यहोरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.