पर्यटन विकासमा व्यवसायी अगाडि : नवनियुक्त प्रमुख भण्डारी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

पर्यटन विकासमा व्यवसायी अगाडि : नवनियुक्त प्रमुख भण्डारी

चिप्लेढुङ्गा, १ साउन : नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका नवनियुक्त प्रमुख काशीराज भण्डारीले प्रदेशको समग्र पर्यटन विकासका लागि राज्य र व्यवसायीबीच पुलको काम गर्ने बताउनुभएको छ । 

ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले आयोजना गरेको बिदाइ एवं स्वागत कार्यक्रममा प्रमुख भण्डारीले नेपालको पर्यटन विकासमा राज्य भन्दा एक कदम अगाडि व्यवसायी रहेकाले व्यवसायीमैत्री नीतिमार्फत राज्य अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 

उहाँले पर्यटन क्षेत्रका समयस्याको पहिचान गरी समाधानका लागि जिम्मेवार रुपले काम गरेर नेपाल भम्रण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९ लाई सफल पार्ने बताउनुभयो । पर्यटन क्षेत्रमा नयाँ दृष्टिको खाँचो औल्याउँदै परम्रागत सोचबाट माथि उठ्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले नयाँ पदमार्गको खोजी र भइरहेका पदमार्गको संरक्षण जरुरी रहेको धारणा राख्नुभयो । 

पर्यटन बोर्ड गण्डकी प्रदेशमा आफ्नो एक वर्ष कार्यकाल सफल गरेर केन्द्रीय कार्यालयमा अनुसन्धान योजना तथा अनुगमन महाशाखाको प्रमुख जिम्मेवारी सम्हाल्ने तयारीमा रहनुभएका निवर्तमान प्रमुख मणि लामिछानेले पोखरामा पर्यटन व्यवसायीको सक्रियता र सहयोगले आफ्नो कार्यकाल उपलब्धिमूलक र ऐतिहासिक रहेको स्मरण गर्नुभयो । टानका पूर्व अध्यक्ष सोम थापाले व्यवसायी र राज्यबीच मैत्रीपूर्ण सम्बन्ध हुन नसके पर्यटन क्षेत्रको विकास नहुने बताउनुभयो । 

टानका अध्यक्ष हरि भुजेलले टान र पर्यटन बोर्डबीचको सहकार्यमा पर्यटन प्रवद्र्धन सम्बन्धी आन्तरिक र बाह्य रुपमा धेरै काम गर्न सफल भएको तथा विशेष गरी टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) व्यवस्थित गर्न पहल गरिएको उहाँको भनाइ थियो । भुजेलले अन्नपूर्ण पदयात्रा मार्गअन्तर्गत बेँसीशहर, धम्पुस, बिरेठाँटी र तातोपानीमा टिम्स काउण्टर रहेको जानकारी दिनुभयो । 

पदयात्रा मार्ग अव्यवस्थित विकासका कारणले लोपहुँदै जाँदा अन्नपूर्ण परिपथमा पदयात्रीको सङ्ख्या घट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । टानका सचिव जीवनराज सापकोटाले टिम्स कार्डबाट उठेको रकमलाई यही क्षेत्रमा खर्च गरेर पदयात्रालाई व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभयो । सङ्कलित रकममध्ये ३० प्रतिशत बोर्ड ३० प्रतिशत टान र ३० प्रतिशत दुवै संस्थाले पर्यटन विकासमा लागि र बाँकी १० प्रतिशत कल्याणकारी कोषमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.