सयौँ परिवार विस्थापित हुने अवस्थामा - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 17 July 2019

सयौँ परिवार विस्थापित हुने अवस्थामा

गाईघाट, १ साउन : उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–७ मुर्कुची क्षेत्र भएर बग्ने छौंडिया खोलामा सोमबार राति आएको आँधीहुरी र भीषण वर्षाका कारण बाढीपहिरो आएर सयौं घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । 

छौडिया खोलाको बाढी र पहिरोका कारण मुर्कुची क्षेत्रमा एक दर्जन घर भत्काइएको छ भने एक जना १४ वर्षीय बालक आर्यन तामाङलाई खोलाले बगाएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताउनुभयो । यस्तै बाढी र पहिरोका कारण मुर्कुचीका बासिन्दाका डेढदर्जन भन्दा बढी खसीबाख्रा, एक दर्जन सुँगुर र केही भैँसी बगाएर बेपत्ता बनाएको पनि उहाँले बताउनुभयो । 

अहिले खोलाको बाँध फुटेर मुर्कुची बजार क्षेत्रमा प्रवेश गर्दा सयौं मुर्कुची बजारका बासिन्दाको उठिबास हुने अवस्थामा आएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । मुर्कुची आसपास र सुकौरा क्षेत्रका अन्य घर पनि छौडिया खोलाको कटानमा परेका कारण उच्च जोखिममा रहेका खड्काले बताउनुभयो । 

तत्काल छौडिया खोलाको बाढी रोक्न र खोलाले भत्काएको सुकौरा पुल निर्माणका लागि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको टोलीले स्थलगत भ्रमण गरेर तत्काल स्थानीयवासीका लागि राहत तथा छौडिया खोला नियन्त्रणको पहल शुरु गरिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।

छौडिया खोला नियन्त्रणका लागि चाहिने तारजाली र जनशक्तिका लागि जिल्लाका सुरक्षा निकायसँग सहयोग मागेर गाउँपालिकाले समेत जनशक्ति प्रयोग गर्न शुरु गरेको गाउँपालिकाका अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मुर्कुची बजारमा मात्र बाढी र पहिरोका कारण रु दश करोड भन्दा बढीको क्षति भएको छ । क्षतिबारे तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिइसकिएको प्र्रजिअ खड्काले बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.