भारतबाट फर्केकालाई सिधैँ गाउँ पठाएकामा काँग्रेसको ध्यानार्षण - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 April 2020

भारतबाट फर्केकालाई सिधैँ गाउँ पठाएकामा काँग्रेसको ध्यानार्षण

सुर्खेत, १९ चैत  : प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको रोकथाम कार्यमा कर्णाली प्रदेश सरकारले गम्भीरता नदेखाएको भन्दै ध्यानाकर्षण गराएको छ । प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले विज्ञप्ति जारी गरी सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराउनुभएको हो ।

काँग्रेसले भारतबाट फर्केका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनमा राख्नुको साटो मन्त्रीहरुले नै रातारात गाउँ पठाएर जोखिम निम्त्याएको आरोप लगाएको छ । “क्वारेन्टाइन खाली छन्, भारतलगायतका मुलुकबाट भित्रिएका नागरिकलाई पहुँचका भरमा गाउँ पठाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “प्रदेश सरकारका गतिविधि प्रकोप नियन्त्रणभन्दा पनि बढोत्तरीमा उन्मुख भइरहेका छन्, सरकार पनि कोरोना भाइरसले गाउँलाई असर गर्दैन भन्ने निश्कर्षमा पुगेको देखिन्छ, बिनातयारी शहरबाट हुलकाहुल नागरिक गाउँ पठाउँदा झन् त्रास फैलिएको छ ।”

प्रदेश सरकारले केही दिनअघि भारतलगायतका स्थानबाट फर्किएका कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकलाई सवारी पास उपलब्ध गराएर रातिको समय गाडी रिजर्भ गरेर गाउँ पठाएको भन्दै स्थानीयस्तरमा आलोचना भएको थियो । प्रदेश सरकारले महामारी रोकथामजस्तो संवेदनशील विषयमा विभेद गरेको काँग्रेसको टिप्पणी छ । 

काँग्रेसको ध्यानाकर्षणपत्रमा सरकारले लकडाउनलाई पूर्ण पालना गराउन, अत्यावश्कीय वस्तुको आपूर्तिलाई सहज बनाउन, क्वारेन्टाइनमा प्रयोगमा ल्याउन, समयमै स्वास्थ्यकर्मीलाई आवश्यक उपकरण उपलब्ध गराई मनोवल उच्च बनाउन, सबै जिल्लामा समान स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्न माग गरिएको छ । प्रदेशभित्रका सुकुम्वासी, बाढीपीडित, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने वर्गलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

काँग्रेसको सुर्खेत जिल्ला कमिटीले पनि अपिल जारी गर्दै क्वारेन्टाइन, आइसोलेसन, कन्ट्रयाक्ट टे«सिङको प्रभावकारी व्यवस्थापन गर्न माग गरेको छ । जिल्ला सभापति कमलराज रेग्मीद्वारा हस्ताक्षरित चार बुँदे उक्त अपिलमा कोरोना भाइरस परीक्षण सहज र छरितो बनाई जनमानसमा देखिएको त्रास हटाउनतर्फ ध्यान दिन सरकारसँग आग्रह गरिएको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.