सङ्घीय संसद् भवनमा यस्तो छ सांसदहरुलाई आचारसंहिता - pharaksandesh.com

मुख्य समाचार


Friday, 8 May 2020

सङ्घीय संसद् भवनमा यस्तो छ सांसदहरुलाई आचारसंहिता

काठमाडौँ, २६ बैशाख : कोरोनाको सक्रमण हुने त्रासलाई मध्यनजर गरेर सङ्घीय संसद् सचिवालयले सोही अनुसारको व्यवस्था गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले स्वास्थ्य सुरक्षाका लागि विभिन्न मापदण्ड तयार पारेको छ । 

विश्व स्वास्थ्य सङ्गठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । राष्ट्रियसभा बैठक कक्षमा अधिवेशन अवधिभर सांसद एउटै सिटमा बस्ने, प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रियसभा दलको नेताबाहेक अन्य सदस्यले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नुपर्ने छ । 

संसद् भवनमा प्रवेश गर्दा र फर्कदा फरक ढोकाको प्रयोग गर्ने, क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने, संसद् भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिने, दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने, सञ्चारकर्मीलाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । 

स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले रोग सङ्क्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद् भवनको स्थलगत अनुगमनपश्चात तयार पारेको सुझाव प्रतिवेदनका आधारमा उक्त आचारसंहिता तयार पारेको हो । अनुगमन टोलीमा स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डा अमृत पोख्रेल, नर्सिङ अधिकृत यसोदा बराल र वरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहर शर्मा हुनुहुन्थ्यो । 

अनुगमन टोलीले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने, मेडिकल मास्कको प्रयोग बैठक अवधिभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ, बैठक समयमा भौतिक दूरीको पालना गरी तोकिएको कुर्सीमा मात्र बस्नुपर्ने, सकेसम्म समूहगत छलफलन नगर्ने, यदि गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपनेलगायतको सुझाव दिएको छ । यस्तै बैठक अवधिभर घरमा गई स्वयम् एकान्तवासको नियम सांसदहरुले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.