बन्दाबन्दीमा कास्कीबाट बाहिरिए ४९ हजार - pharaksandesh.com

मुख्य समाचार


Monday, 18 May 2020

बन्दाबन्दीमा कास्कीबाट बाहिरिए ४९ हजार

चिप्लेढुङ्गा, ५ जेठ : जिल्ला प्रहरी कार्यालय कास्कीले बन्दाबन्दीका समयमा जिल्लाबाट ४८ हजार ८१७ जना बाहिरिएको तथ्याङ्क सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले भर्चुअल पत्रकार सम्मेलन गरेर गत चैत ११ देखि वैशख ३१ सम्म जिल्लामा ३२ हजार ६२४ मानिस बाहिरबाट आएको तथा सानाठूला १२ हजार ७१८ सवारी साधन भित्रिएको र कास्कीबाट १४ हजार ५१५ सवारी जिल्ला बाहिरिएको तथ्याङ्क रहेको छ । 

सो समयमा पासको दुरुपयोग गर्ने २७३ जनालाई कास्की प्रहरीले कारवाही गरिएको जनाएको छ । त्यस्तै सवारी चालक अनुमतिपत्र नलिएका, म्याद सकिएको पास प्रयोग गरेका, अर्कै व्यक्तिको सवारी पास प्रयोग गरेका, एउटा सवारी साधनको पास लिएर अर्को सवारी साधन चलाएका, तोकिएको स्थानभन्दा अर्कै स्थानमा सवारी चलाएका र क्षमताभन्दा बढी यात्रु बोक्ने र प्रयोजन विपरीत सवारी चलाउनेहरु कारवाहीमा परेको कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

गण्डकी प्रदेश सरकारले गत वैशाख दोस्रो सातादेखि निर्माणलाई सहज बनाउने निर्णय गरेपछि पोखरामा बन्दाबन्दी केही खुकुलो देखिएको थियो । देशमा कोरोनाको सङ्क्रमण दर बढ्न थालेपछि कास्की प्रशासनले वैशाख ३१ अघिका पास खारेज गरेर बन्दाबन्दीलाई कडाइ गरेको छ । यस अवधिमा अपराधसम्बन्धी ८५ मुद्दा दर्ता भएका छन् । गत चैतमा मात्र ६७ मुद्दा दर्ता भएका छन् । बैंकिङ कसुरका १० मुद्दा परेका छन् । वैशाखमा मात्रै कास्कीमा १० जनाले आत्महत्या गरेको जनाइएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.