सुरुङ्गा, ६ जेठ : कोरोना भाइसरको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा झापाको बाह्रदशी गाउँपालिकाले विकास निर्माणलाई तीव्रता दिएको छ । अहिले कनकाइ नगरपालिका–९ र बाह्रदशी गाउँपालिका–७ को सिमाना लकडीगद्दीचोकबाट बाह्रदशी गाउँपालिका–४ को राधानगरसम्मको ११।५ किलोमिटर सडकको निर्माण जारी रहेको छ । बन्दाबन्दीको यो समयमा निर्माण कम्पनीले सडक निर्माणकार्यलाई तीव्रता दिएसँगै सडक निर्माणको काम तीव्ररुपमा अघि बढेको हो ।
प्रदेश नं १ अन्तर्गत मुख्यमन्त्री सडक परियोजनाको रु ७६ लाख र बाह्रदशी गाउँपालिकाको रु १९ लाख गरी रु ९६ लाखको लागतमा निर्माण सम्पन्न हुने सडकको पहिलो चरणमा ७५० किलोमिटर सडक कालोपत्र हुँदैछ भने लकडीगद्दी नजिकै रहेको होलीमा कज्वे निर्माणको काम भइरहेको बाह्रदशी गाउँपालिका–७ का वडाध्यक्ष मित्रराज भट्टराईले बताउनुभयो । उहाँका अनुसार सडक निर्माणसँगै यस क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
लामो समयदेखि यस क्षेत्रका स्थानीयवासीलाई वर्षायाममा हिँडडुल गर्नसमेत समस्या भएपछि गाउँपालिकाको विशेष पहलमा प्रदेश सरकारको सहयोगमा सडक निर्माण गर्न थालिएको अध्यक्ष भट्टराईले बताउनुभयो । असार मसान्तसम्ममा सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने भएपछि निर्माण कम्पनीले समेत सडक निर्माणकार्यलाई तीव्रता दिएको उहाँको भनाइ छ ।
सडक निर्माणसँगै कनकाइ नगरपालिका–९ का स्थानीयवासी र बाह्रदशी गाउँपालिकावासीलाई प्रत्यक्ष फाइदा पुग्ने बताइएको छ । सडक निर्माणकार्य शुरु भएसँगै त्यस क्षेत्रका स्थानीवासीसमेत हर्षित छन् । कनकाइ नगरपालिका–९ का लखिराम मुर्मूले सडक निर्माण भएसँगै यस ठाउँमा बस्ती बस्ने र जमिनको भाउँसमेत आकाशिने भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विसं २०६० मा विरिङनदीमा आएको बाढी बस्ती पस्दा होली भरिएर यहाँको बस्ती नै उठाएको थियो, सडक निर्माण र कज्बे बनेपछि विस्थापित पनि यही ठाउँमा आएर बस्ने भएका छन् ।”
नाम मात्रैको बाटो भएका कारण वर्षायाममा हिँडडुल गर्न समस्या हुने गरेको बताउँदै स्थानीय दशरथ मल्लले भन्नुभयो, “सडक निर्माणसँगै अब गाउँको मुहार नै फेरिन्छ । उठेका बस्ती फेरि बस्छन् अनि खेतीपाती गर्न जानसमेत सहज हुन्छ भने आफूले उत्पादन गरेका वस्तु बजार पु¥याउनसमेत सहज हुने भएको छ ।
बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको सडक निर्माणको काम असार २०–२१ भित्र सम्पन्न गर्नुपर्ने भएकाले लकडाउनको यो अवधिमा पनि त्रासका बीच सुरक्षा सचेतना अपनाएर आफूहरुले सडक निर्माणको काम गरिरहेको सिदार्थ सृष्टि कन्ट्रक्शनका अध्यक्ष किरण मैनालीले बताउनुभयो । उहाँले सडक निर्माणको काम समयमै सम्पन्न गर्ने बताउनुभएको छ । गाउँपालिकाले यो सँगै अन्य विकास निर्माणलाई तीव्रता दिएको छ ।(रासस)

No comments:
Post a Comment