नेपाली भूभाग समेटेको नयाँ नक्सा पारित गर्न संविधान संशोधनको प्रस्ताव सदनमा आउँछ : प्रधानमन्त्री ओली - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 19 May 2020

नेपाली भूभाग समेटेको नयाँ नक्सा पारित गर्न संविधान संशोधनको प्रस्ताव सदनमा आउँछ : प्रधानमन्त्री ओली

काठमाडौँ, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभाग समेटेको नयाँ नक्सा पारित गर्न संविधान संशोधनको प्रस्ताव सदनमा आउने बताउनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसलाई फिर्ता लिएर छाडिने बताउनुभएकाे हाे । 

गत शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुृक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भारतले मिचेको भूभाग ठोस कूटनीतिक प्रयास गरेर फिर्ता लिइने बताउनुभयो । यद्यपि उहाँले त्यो सरल भने नरहेको स्वीकार गर्नुभयो । 

उहाँले भारतको प्रतीक चिह्न चारमुखे सिंहमा ‘सत्यमेव जयते’ लेखिएकाले भारतले ‘सिहंमेव जयते’ को व्यवहार नगर्ने विश्वास नेपाल र नेपालीको रहेको बताउनुभयो । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्बाट स्वीकृत भएको सदनलाई जानकारी दिँदै उहाँले नेपाली भूमिमा भारतले बाटो निर्माण गरेपछि सरकारले उक्त भूमि आफ्नो नक्सामा समावेश गर्ने निर्णय गरेको बताउनुभयो । साथै नेपालको मानचित्रमा भएको परिवर्तन भोलिसम्ममा सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो । 

संविधानको अनुसूचीमा उल्लिखित नक्सा संशोधनका लागि सदनमा संशोधन प्रस्ताव प्रस्तुत गरिने र त्यसलाई सदनले पारित गर्नेमा आफू ढुक्क रहेको प्रधानमन्त्रीले बताउनुभयो । विसं २०१८ सम्म तिरो उठाउने गरेको र जनगणना गरेको स्पष्ट हुँदाहुँदै नेपालको भूमि हडपिएकाले त्यो जसरी पनि फिर्ता लिइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

विगतका शासकहरूले भारतले हडपेको जमिनबारे मौन रहे पनि वर्तमान सरकारले सही निर्णय गरेको बताउँदै उहाँले भन्नुभयो, “१९६२ मा भारतीय सेना कालापानीमा बसेपछि, त्यसबेलाका शासकहरूले सहे,’ उहाँले भन्नुभयो, “अब यो ओझेल पर्नेछैन, सेलाउन दिइनेछैन । निष्कर्ष निकालिनेछ । अतिक्रमण गरिएको जमिन फिर्ता लिइनेछ ।”

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.