नेपालमा कोरोना भाइरस : आफैमा एक समस्या र समाधान - pharaksandesh.com

मुख्य समाचार


Monday, 25 May 2020

नेपालमा कोरोना भाइरस : आफैमा एक समस्या र समाधान

नारायण विर खत्री
कोरोना भाइरस (कोभिड १९) सन् २०१९ डिसेम्बरमा चीनको हुवावे प्रान्तकाे बुहान शहरबाट सुरुभइ हाल विश्वभरि नै एक विनाशकारी महामारीको रुपमा फैलिएको छ । विश्वका सानादेखि ठुला जुनसुकै राष्ट्र पनि यस महामारीवाट अछुतो रहन सकेका छैनन् । विश्वभरी विनाशकारी रुपमा फैलिएको यस कोरोनाभाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिड १९ को नामाकरण गरेकाे छ । यस भाइरसलाई केही वैज्ञानिकले जनावर तथा चराचुरुङ्गीको माध्यमबाट उत्पन्न भएको भन्ने अभिव्यक्ति जारी गरेको छन् भने केहीले सामुन्द्रिक तटका जनावरवाट सरेको भनाई पनि प्रस्तुत गरेका छन् तापनि आजसम्म यसको सम्बन्धमा प्रमाण र तथ्य यकिन गर्न सकेका छैनन् । स्वास्थ्य क्षेत्रमा अब्बल मानिएका देशहरु पनि यस भाइरसरको संक्रमण पश्चात हुने रोगको उपचारमा सफल हुन सकेका छैनन्, नियन्त्रणमा कठिनाइ देखिएकाे छ । यस कोरोना भाइरस आनुंवशिंक संरचना आरएनए (RNA) भएको भाइरस अर्थात विषाणुको समुहलाई कोरोना भाइरसको नामाकरण गरेका थिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसले ज्वोरो, रुघाखोकी लाग्नुका साथै फोक्सोको सङ्क्रमण गराई निमोनिया निम्त्याउँछ । केवल यो भाइरस केही घण्टाभन्दा बढी हावामा बाँच्न सक्दैन । यसको ऊष्मायन अवधि अज्ञात भए पनि मोटामोटी रूपमा लगभग १ देखि १४ दिन बीचको अनुमान गरिएको छ । कोरोना भाइरस विभिन्न प्रकारका हुन्छन । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा सङ्क्रमण हुन्छ भनिन्थ्यो तर अहिले आएर यो नयाँ प्रकार पत्ता लागेसँगै यसको सङ्ख्या ७ पुगेको छ । अहिले यो रोग विश्वका साथै नेपालमा समेत एक आफैमा समस्या र चुनौती देखा परेको छ । यसले एकातिर समस्या देखाएको छ भने अर्को तिर देशको सामाजिक, आर्थिक क्षेत्रमा देश भित्रबाट नै समाधान खोज्नुपर्ने अवस्था जन्मिएको छ ।

समस्या
यस नोवेल कोरोना भाइरस विश्वयुद्धको रुपमा फैलिएको छ, जसले विश्व अर्थतन्त्र, विश्व व्यापार, पर्यटन, शिक्षा लगायत अन्य सबै पक्षमा प्रभाव पारेको देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यस भाइरसको अन्त्य कहिले हुने भन्ने मिति तय गर्न नसकिने र यस भाइरसको सामना गर्दै अघि बढनु पर्ने देखिन्छ । यसै गरी नेपालमा पनि कोरोना भाइरस एक विशाल समस्याको रुपमा रहेको छ । कोरोनाको औषधी पत्ता लागि नसकेको अवस्थामा विश्वव्यापी रुपमा नै यसको असर कम गर्ने उपायको रुपमा आइसोलेसन (चिकित्सकको निगरानीमा अलल्गै वस्ने), लकडाउन र क्वारेन्टाइनलाई लिएको छ र विश्व स्वास्थ्य संगठनले संसारभर नै सतर्कता अपनाउन जरुरी रहेको चेतावनी जारी गरीसकेपछि नेपालले पनि साेही अनुसार सर्तकता अपनाउन थालेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७६ साल चैत्र ११ गते पन्ध्र दिनका लागि लकडाउन घोषणा गरेको थियो । र हालसम्म लकडाउनको अवधिमा विस्तार गर्दै गई हाल जेष्ठ २० सम्मलाई लकडाउनको अवधि तोकिएको छ ।

नेपालमा लकडाउन सुरु गरे लगतै स्कुल, कलेज, कारखाना, अफिस, व्यवसाय तथा कार्यालयहरु वन्द छन् । यसको प्रत्यक्ष असर उत्पादन तथा रोजगारीमा परेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण निरन्तर रुपमा बढिरहेकाे छ । कोरोना रोकथामका लागि आवश्यक पर्ने साम्रगी केहि मात्रा आयात गरेका भएतापनि यसरी नै संक्रमण दर बढ्दै जाने हाे भने स्थिति नियन्त्रण बाहिर जानसक्ने भएकाले यस तर्फ सचेत हुनुपर्ने र सरकारकाे निर्देशन पालना गर्नुकाे विकल्प छैन । करीब तीस लाख मानिस अन्य मुलुकमा रोजगारीको सिलसिलमा रहेका छन् । रेमिटान्सले अर्थतन्त्रमा ठूलाे याेगदान दिएकाे छ । तर विदेशमा रहेका नेपालीहरुकाे राेजगारी गुम्ने सम्भावना बढेसँग अर्थतन्त्रमा यसले ठूलाे असर पुर्याउने संकेत देखिन थालकाे छ । त्यतिमात्र हाेइन धेरै नेपाल फर्किसकेपछि उनीहरुलाई कसरी व्यवस्थापन गर्न भन्ने अर्काे समस्या देखा पर्नेछ । नेपालभित्रै रहेका कामदारकै राेजगार खाेसिने अवस्थामा विदेशबाट फर्किएकालाई राेजगारीकाे अवसर कसरी सिर्जना गर्ने सरकारलाई चुनाैति रहेकाे छ । विश्व वैंकका अनुसार कोरोनाका कारण यदि ६ महिना मात्र बैदेशिक रोजगारी गुम्यो भने नेपालले चार खर्ब वरावरको लागत वेर्होनु पर्ने अवस्था छ । कृषि क्षेत्रबाट मात्रै देशकाे अर्थतन्त्रलाई सन्तुलनमा राख्नुपर्ने चुनाैति सरकारसँग छ भने कृषिकाे लगानी भने न्युन छ । न्युन लगानी र कृषि क्रान्तिकाे विषय नारामै सीमित भएकाे अवस्थामा कसरी अर्थ व्यवस्था सन्तुलित राख्ने भन्ने चुनाैति छ । यस वर्ष पर्यटनबाट आम्दानी हुने र सरकारकाे राजस्वमा टेवा पुग्ने सम्भावना ज्यादै न्युन छ । हाल सञ्चालनमा रहेका उद्याेगहरुले पनि धरासाही बन्दै गएकाे अवस्थामा नयाँ उद्याेग खेल्ने र राेजगारी सिर्जना हुनसक्ने सम्भावना पनि देखिसकेकाे अवस्था छैन । सरकारले लगानीमा सहुलियत र प्राेहाेत्सान गर्ने गरी याेजना सार्वजनिक गर्न सकेन भने विकराल अवस्थाको सामना गर्नुपर्ने हुन सक्दछ । तर अहिलेकाे समस्यालाई अवसरकाे रुपमा लिएर देशले दीर्घकालिन महत्वकाे याेजनालागु गर्ने अवसर पनि देखिदै गएकाे छ ।

समाधान 
अहिले विश्व नै कोरोना भाइरसको कारण लकडाउन को अवस्थामा रहेको छ । जसले विश्वको साथै नेपालको प्राकृतिक वातावरको प्रदुषणमा कमी आइ मानिसको प्रकृति माथिको अधिपत्य अनत्य भएको छ । वर्तमान प्रवृतिलाई नियाल्ने हो भने मानिसमा स्वास्थ्यप्रति सचेतना बढदै गएको छ । मानिसमा आफु गाऊँटोल सरसफाईको महत्व दिने क्रम प्रतिदिन बढदै गएको छ । नेपालमा मानिसहरु अन्य रोगका कारण मृत्युको शिकार हुने अवस्थामा कमी आएको छ । जुन नै एक प्रकारको स्वास्थ्य समस्याकाे समाधान हो । निकट भविष्यमा मानिसको सबैभन्दा ठुलो धन स्वास्थ्य नै रहेछ अर्थात मानिसको स्वास्थ्य र जीवन नै ठुलो सम्पति रहेछ भन्ने बुझाईमा सकरात्मक परिवर्तन आएको देखिन्छ । वतर्मान कोरोनको महामारीको समयमा धेरै मानिसहरु गाँऊ फर्किएका छन् । हिजो सहरीया लोभ लालचले सहर पसेका व्यक्तिलाई गाँउप्रतिको माया बढ्न थालेकाे देखिन्छ । नेपालमा खाधान्नको अभाव र संकट टार्न हिजो बाँझो छोडिएका जमिन आज उपयोगमा आउन थालेका छन् । 

कृषि पेशालाई अवहेलना गर्ने व्यक्तिको मनमा कृषि क्रान्ति जागेको छ । बजारमा गएर विषादीयुक्त तरकारी, फलफुल लगाएत अन्य खाधान्न किनेर खानुभन्दा घरमा नै उत्पादन गरेको तरकारी र अन्नतर्फ महत्व बढदै गएको छ । कोरोनाकै कारण मानिसमा अनावश्यक खर्चमा कटौति गरि बचत गर्ने बानीको विकास भएको छ । अहिले उहीँ पुरानो गाँउघरमा ती बुढी आमासँग वस्दै गर्दा ती कुनै समय शहरमा हराउने छोराहरुमा आमाप्रतिको माया बढेको छ । विदेशी रहनसहन, संस्कृति अगाल्नु भन्दा आफ्नै देशको रहन सहन, सस्कृति अगाल्नु उत्तम रहेको भावना जागृत भएको छ । विदेशमा केही समय कमाएको धेरै धन भन्दा स्वदेशमै निरन्तर कमाएको धन नै दिगो रहेछ भन्ने बुझाइ विकास भएको छ । आफ्नै राष्ट्रमा नै आफ्नो रगत र पसिना बगाउनु नै मुल्यवान रहेको कुरा स्पष्ट पारेको छ । देश र आफु आत्मनिर्भर र स्वालम्बी बन्न सके जस्तो सुकै परिस्थितिमा पनि झुक्नुपर्दैन भन्ने विचारको सिर्जना गरेको छ । राज्यको आर्थिक, सामाजिक, प्राविधिक पुनंसंरचनाको चिन्तन विकास भएको छ । कोरोनाले मानिसलाई अभावै अभावमा पनि संघर्षरत जिवन जिउन पुन: सिकाएको छ । अभिभावकमा घरपरिवारलाई समय दिँदा बालबच्चाको भविष्य र इच्छा चिन्न सक्ने शक्ति जाहेर गरेको छ । मानिसले वित्तिय अवस्था नियाल्दै गर्दा खरीदभन्दा विक्री नै फाइदाजनक मान्न थालेका छन् । विद्यार्थीमा सैदान्तिक शिक्षाको साथै व्यवहारीक शिक्षाको आवश्यकता वृद्वि गरेको छ । याे भावनालाई अब व्यवहारमा लागु गर्न सरकारले सहयाेग गर्न सकेमा र गाउँमा फर्किएका युवालाई स्थानीय तहमा नै राेजगारी वा स्वाेराेगजार हुने अवसर सिर्जना गर्न सकेमा आर्थिक क्रान्तिकाे ढाेका खुल्ने निश्चित छ । सरकारले यसका लागि सहुलियत ऋृण व्यवस्थापन, कृषि उपकरणमा सहुलियत र स्वाेराेजगारमा लाग्न चाहनेहरुलाई विकल्प दिन सकेमा देशले अहिले भाेग्नुपरेकाे आर्थिक क्षति कम गर्दै आर्थिक विकासमा लाग्ने सूवर्ण अवसरकाे रुपमा याे काेराेनापछिकाे अवस्थालाई बनाउन सक्ने माैका छ । विदेशी रेमिटान्सले धानेकाे अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा विकास गर्ने अवसरकाे रुपमा सदुपयाेग गर्ने सम्भावना पनि रहेकाे छ । तर अहिलेकाे प्रमुख काम भनेकाे कोरोना भाइरसबाट आफुँ पनि बचौँ अरुलाई पनि बचाऔँ ।

देवचुली ०२, दुमकौली

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.