![]() |
| सविता बस्नेत दानी |
यो कोरोना कहिले जान्छ होला है ? कति बोर लागि सक्यो मलाई त । किन आ’को होला यो कोरोना ? पहिला पहिला त आ’को थिएन आजकाल किन आ’को होला । कति दिन भै सक्यो, घरमै बसेको बाहिर खेल्न जान पाको पनि छैन । कति धेरै दिन भै सक्यो, स्कुल विदा भएको पनि । पहिला स्कुल विदा नहुदा त कस्तो स्कुल जानै मन लाग्दैन थियो । आजकाल त कस्तो जान मन लागेको छ । मेरो स्कुलको चिप्लेटी कस्ले खेलेको होला ? मेरी गो राउन्ड मा को बसेको होला ? पिङ पनि छ मेरो स्कुलमा त । एक छिन जान पाए पनि एक चोटि खेलेर आँउथे नि, नजिकै त छ स्कुल, आम्मा नि ! अनि फेरि म स्कुल गा’को बेलामा कोरोना त्यहिँ आयो भने ? कस्तो हो के यो कोरोना ? कस्तो बदमास ! मैले देखे भने बरु त्यसलाई लठ्ठीले हान्थेँ नि त्यसलाई, मेरो गनले पनि हान्थेँ । साच्चै, शिवा, डोरेमन, निन्जा हतौडि भन्दा पनि कोरोना पो स्ट्रङ्ग रहेछ जस्तो छ । उनिहरुले पनि कोरोना सँग फाइट गर्न सक्दैन कि जस्तो छ । बरु म सँग पावर भएको भए म त्यो कोरोना भगाउथेँ होला । टाढा पुराइ दिन्थे अनि म घुम्न जान्थे, बाबा मामु सँग भाटभटेनी, फनपार्क । कति धेरै चकलेटहरु थियो भाटभटेनीमा । त्यो चकलेटहरु लेज कुरकुरेहरुमा पनि कोरोना लाग्यो होला कि, लागेको छैन होला । सबै तिर लागेको छ रे । यो कोरोना आए देखि त मैले राम्रो चकलेट पनि खान पाको छैन । चकलेट त के, कत्ति भयो मैले मलाई मन पर्ने खानेकुरा अनि फ्रुट्स खान नपाएको । एप्पल वाटरमेलन ल्याउने अंकल पनि आजकाल आउनु हुन्न, कहाँ जानू भयो होला है ? सबै फ्रुट्स आफै खानु भयो होला । त्यो अंकललाई नि कोरोना लाग्यो की ?
उफ् यो कोरोना किन नगाको होला क्या । अस्ति नै स्कुलमा म्यामले अनि टिभिमा पनि भनेको थियो साबुनपानीले मिचिमिचि हात धोयो भने यो कोरोना जान्छ भनेर । मैले त धोईको थिए, घरमा पनि सबैले हात त धोएको हो नि, अनि फेरि किन नगाको होला कोरोना ? ए ए ! हामीले जस्तै सबैले हात नधोएर पो हो की ! मेरो मामुले भनेको सुनेको अरु अरु मान्छेले भनेको नमानेर कोरोना सबैतिर आ’को रे, पहिला सबै तिर थिएन रे नि त ! नजाउ भनेको ठाँउमा गएको भएर यस्तो भा’को रे । किन भनेको नमानेको होला है मान्छेहरुले ! हामी सानो बच्चा मात्रै भनेको नमान्ने भनेको त ठुलो मान्छे ले पनि नमान्ने रहेछ।
झ्याउ लागि सक्यो मलाई त । कति बस्ने हो क्या घरमा ? हुन त आजकाल मामु, बाबा, बुवा, आमा, अकंल, आन्टी, दादा, दिदी सबै घरमै हुनु हुन्छ । तर सबै जना आफ्नै काम गर्नु हुन्छ, बाबा मामुको अफिस बिदा भए पनि ल्यापटप मा काम हुन्छ रे । कस्तो काम है, ? अहिले ल्यापटपबाट गर्ने, काम पहिला नै चाहिँ किन अफिस नै जानू परेको होला । घरमा बसेर ल्यापटपबाट नि काम हुने रहेछ नि त ! मामुलाई थाहा नै रहेनछ पहिला, नत्र अस्ति नै म कस्तो बिरामी हुदा मैले मामु चाहियो, मामु चाहियो भन्दा बिदा पाइन, भन्दै रुदै रुदै मलाई छोडेर जानू भाको थियो । कस्तो होला मेरो मामु, त यति पनि थाहा नभाको। अहिले बल्ल थाहा भएछ मामुलाई । बाबा पनि राति म सुते पछि मात्रै घर आउनु हुन्थ्यो, कति दिन त मैले बाबालाई देख्नै पाँउदिन थिए । सायद बाबालाई पनि थाहा थिएन होला, अफिसको काम ल्यापटपबाट गर्न मिल्छ भनेर । अब त दुबै जनालाई थाहा भयो, अब त्यस्तो गर्नु हुन्न होला । तर बाबा मामु घर बसे पनि म सँग खेल्नु हुन्न; खालि ल्यापटप मोबाइल मात्रै चलाएर बस्ने । घरमा सबै जना यस्तै गर्ने हुन; त म पनि ट्याबलेटमा कार्टुन हेर्छु तर मलाई खेल्न पनि मन लाग्छ, बाहिर जान पनि मन लाग्छ, तर के गर्नु बाहिर कोरोना छ । लकडाउन छ रे । लकडाउन शुरु भाको बेलामा त रमाइलो भाको थियो । बाबा, मामु, दादा, दिदी सबै जना संगै खेल्थौं, अहिले त बाबा, मामु, दादा, दिदी सबैको अनलाइन क्लास रे, घरमा बोल्न पनि मिल्दैन । ह्या...... अझै कती दिन बस्छ होला यो कोरोना । कस्तो स्कुल जान मन लागि सक्यो । म्याम, साथिहरु सबैको याद आउछ । मेरा साथिहरु कहाँ कहाँ छन् होला है ? उनिहरु पनि म जस्तै घरमै बसेको छन् होला कि बाहिर निस्केर खेलेकाछन् होला । प्रसन्न त गाउँ गाको छ रे । गाउँमा त कोरोना छैन होला है ! उ त बाहिर खेल्न गा’को होला । अरु साथिहरु शुभम, रिसभ, सुहान, आर्दश, शुभ, समर्थ, सुवास अनि अरु साथि हरु के गर्छन् होला ? मलाई सम्झन्छन् कि सम्झदैनन् होला ? अस्ति एक दिन स्कुलबाट म्यामहरुले हामीलाई मिटिङ गराउनु भाको थियो, अनि त्यस बेला मैले शुभम, आदर्श, रिसभ र शुभलाई देखेको, कस्तो माया लाग्यो मलाई त । अब फेरि साथीहरुलाई भेट्ने कहिले होला ? स्कुल ड्रेस लगाएर, ब्याग बोकर, स्कुल जाने कहिले होला ? अब त अर्को क्लासमा जाने बेला भा’को थियो । मेरो नया बुक पनि आँउथ्यो, नयाँ कपि, नयाँ ड्रेस । अब सबै पुरानो हुन्छ होला है ।
कसले भगाउन सक्छ होला क्या यो कोरोनालाई ? बाबाको फोनमा हेर्दा त कस्तो राम्रो देखिन्छ कोरोना । कस्तो मलाई त हातमा लिएर उफार्दै खेल्ने कपाल जस्तै रौ नै रौ भा’को बल जस्तै लाग्छ । रेड, पिंक, ब्लु कस्तो राम्रो कलरको कोरोना, यति राम्रो भएर नि किन बदमास भाको होला है? किन हामीलाई दूःख दे’को होला। कोरोना तिमी छिटो जाउ न । मलाई बाहिर गएर खेल्नु छ । मेरो स्कुल जानु छ नया बुक पढ्न छ । नयाँ ड्रेस लगाउनु छ, साथिहरु भेट्नु छ, मामाघर जाननु छ, घुम्न जानू छ । धेरै कुरा सिक्नु छ । छिट्टै ठूलो हुनु छ । त्यसैले तिमी छिटो जाउन कोरोना । प्लिज, कोरोना तिमी छिटो जाउन ।
(नाेट : बाल मनाेदशामा आधारित भाव समेटेर तयार पारिएकाे लेख हाे)

No comments:
Post a Comment