उल्लासमय भएन यस वर्षको ‘साकेला उभौली’ - pharaksandesh.com

मुख्य समाचार


Friday, 8 May 2020

उल्लासमय भएन यस वर्षको ‘साकेला उभौली’

– केदार मगर
खोटाङ, २६ वैशाख : महिना दिनसम्म मनाइने किराँत समुदायको प्रमुख चाड साकेला अर्थात् उभौली यो वर्ष त्यत्ति उल्लासमय भएन । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका कारण बढीमा २५ जना मात्र सहभागी भएर चाडपर्व मनाउन उर्दी गरेपछि जिल्लामा साकेला उभौली खल्लो भएको हो ।

यद्यपि, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला उभौली चाडको अवसरमा पूजाआजा गर्दै साकेला सिली नाचिएको छ । किराँत समुदायले वैशाख पूर्णिमादेखि महिना दिनसम्म उभौली र मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली चाड मनाउँदै साकेला सिली नाच्ने चलन छ । 

प्रकृतिपूजक किराँत समुदायले जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने समयमा उभौलीमा खेतीपाती सप्रियोस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुव्यफाब्य होस्लगायतका कामना गर्दै प्रकृतिको पूजा–आराधना गरेर साकेला सिली नाच्ने गरेका छन् । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । 

यो वर्ष भने २०–२५ जनाका समूहमा मात्र साकेला सिली नाच्ने निर्णयपछि आ–आफ्नो टोलमा मात्र उभौली पर्वको अवसरमा साकेला नाच्ने तयारी गरिएको किराँत राई यायोक्खा खोटाङका सचिव युगसन किराँतले बताउनुभयो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले आयोजना गरेको बैठकले साकेला तथा देवालीलगायत कुलपूजा गर्दा २०–२५ जनाका समूहभन्दा बढी भेला नहुने सहमति गरेपछि कम जमघटमा साकेला सिली नाचिने भएको हो ।

उभौलीको अवसरमा मझुवागढीमा बिहीबार २०–२५ जनाका समूहमा भेला भएर किराँती पुर्खा÷धामीहरुले प्रकृतिको पूजा–आराधना गरी उभौली चाडको शुरुआत गरेका छन् । जिल्ला समन्वय समिति खोटाङका प्रमुख तथा मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विणादेवी राईलगायतको उपस्थितिमा मझुवागढीमा पूजाआजा गरेर साकेला उभौलीको शुरुआत गरिएको आयोजक किराँत राई यायोख्खाले जनाएको छ । 

साकेला सिली किराँतीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रूपमा विकास भएको नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका अध्यक्ष हात्तीराम राईले बताउनुभयो । “साकेला पर्वले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ”, उहाँले भन्नुभयो, “साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ ।”

उभौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायाजुङ, रुपाकोट–मेरुङ, जन्तेढुङ्गा–छोङ्खा लगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ । उधौली र उभौलीमा किराँत राईहरुको प्रत्येक घरमा तीन चुलो पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरमा साकेला नाच्ने गरिन्छ । 

छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक वेषभूषामा ठाँटिएर हरेक किराँत राईहरुको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किराँत समुदाय मात्र नभइ गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल–झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरुन् भन्ने कामनाका साथ साकेला पर्व मनाउने गरिएको छ ।

बालकदेखि वृद्धसम्म एउटै लहरमा सामूहिकरूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गरिन्छ । हरेक वर्ष जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मझुवागढीबाट शुरु गरिने साकेला उभौली पर्व यसवर्ष विधिवतरूपमा मात्र मनाउने तयारी गरिएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.